काठमाडौंः मानव जीवनको स्वास्थ्यमा प्रत्यक्ष जोडिने औषधि बजार मूल्यभन्दा चर्को मूल्यमा बेचेर कालोबजारी गरेको आरोपमा २ कम्पनीमा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर टेकुले छापा हानेको छ ।
प्रहरी र प्रशासनको संयुक्त टोलीले नारायणहिटी दराबारको उत्तर ढोकास्थित लोमस फर्म्यास्युटिकल्स र हात्तिसारस्थित देउराली जनता फर्म्यास्युटिकल्सको कार्यालयमा छापा मारेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी र महानगरीय प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापासहितको टोली ती २ औषधि कम्पनीमा छापा हान्न पुगेका हुन् ।
छापा मार्ने क्रममा प्रहरीले लोमस फर्म्यास्युटिकल्सबाट सञ्चालकहरु प्रवलजंग पाण्डे र प्रज्वलजंग पाण्डेलाई पनि पक्राउ गरि हिरासतमा लिएको छ ।
त्यसैगरी देउराली जनता फर्माबाट प्रहरीले निलरत्न आचार्यलाई पनि पक्राउ गरि हिरासतमा लिएको छ ।
प्रहरी र प्रशासनको टोलीले दुबै कम्पनीको कार्यालयबाट औषधि उत्पादन तथा विक्रीसम्बन्धी कागजात जफत गरेको छ ।
लोमस फर्मा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप जंग र उनका भाइ प्रज्वल जंग पाण्डेले सञ्चालन गरिरहेका छन् । त्यसैगरी देउराली जनताका मालिक हरिकृष्ण शर्मा हुन् ।



No comments