एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच बिहीबार राति भएको बैठकमा सहमति भए अनुसार शीघ्र पार्टी एकता हुने भएको छ । ती दुवै पार्टीका शीर्ष नेताहरूबीच यस्तो निर्णय भएको खुलासा क्रान्तिकारीका महासचिव रामबहादुर थापा (बादल) ले गरेका छन् ।
पार्टी केन्द्रीय स्कुल ब्युरोले राजधानीमा आयोजना गरेको प्रशिक्षणमा सम्बोधन गर्दै बादलले भने, ‘चैत पहिलो सातासम्म दुई पार्टीबीच एकता हुन्छ । यसका लागि दुवै पार्टीको केन्द्रीय समितिको बैठक केही दिनभित्रै बस्नेछ ।'
एकताका विषयलाई विश्राम दिन दुवै पार्टीबीच गठन भएको ‘माओवादी पार्टी पुनर्गठन अभियान' को बैठक तीन दिनयता निरन्तर रूपमा बसिरहेको जानकारी अभियानका एक सदस्यले दिए ।
२ पार्टीको एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएअनुसार चैत पहिलो सातासम्म एकता हुने खुलासा बादलले गरे ।
अभियानले एकताका लागि चालेको कदम र मुलुकसमक्ष देखिएका चुनौती सामना गर्न दुई पार्टी एकता अपरिहार्य रहेको निष्कर्षका साथ बिहीबार राति एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य र महासचिव बादलबीच गोप्य बैठक बसेको थियो । बैठकमा दुवै पक्षले एकताविरोधी अभिव्यक्ति र कार्यशैली नअपनाउनेमा सहमति गरेका छन् ।
बैठकमा वैद्यले नौलो जनवादी क्रान्ति पूरा भएको छैन भन्नेमा अडान लिएका थिए भने दाहालले नौलो जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संघर्षका सबै नीति अपनाई अघि बढ्नुपर्ने धारणा राखेको स्रोतले जानकारी दियो । यद्यपि वैद्यले त्ययबारेमा आफूले राजनीतिक दस्ताबेज लेख्न पाउनुपर्ने माग गरेका थिए ।
सहमतिअनुसार वैद्यले शनिबारदेखि दस्ताबेज लेख्ने र त्यसलाई पार्टीको फरक मतका रूपमा नभएर वैद्यको विचारका रूपमा राख्ने सहमतिसमेत भएको स्रोतले बतायो ।
पार्टी एकताका लागि दाहालले हदैसम्म लचकता अपनाउँदा पनि पूर्णता नपाएमा बादल पक्षका सबै एमाओवादीमा एकीकृत हुने र वैद्यले स्वीकार— अस्वीकार जे गरे पनि उनलाई एकीकृत पार्टीको संरक्षकको सम्मान दिने तयारी भइरहेको छ ।
संगठनको नेतृत्वमा तीनवटा विकल्पमाथि छलफल भएको छ । त्यसमा जो जे छ, त्यही हुने, पहिलेकै स्वरूपमा जाने र दाहाल संयोजक रहेको एकता सम्मेलन आयोजक समिति गठन गर्ने रहेको स्रोतले बतायो ।
एकताका लागि क्रान्तिकारीले केही दिनअघि सबै विषयमा स्पष्ट पार्दै पत्र पठाइसकेको र पत्रका बुँदालाई सकारात्मक रूपमा रहेको दाबी गरेको छ ।
एमाओवादीबाट आएको जबाफी पत्रमा नयाँ संविधान राज्यसत्ताको स्वरूप र राष्ट्रियताका विषयमा निकट रहेको जानकारी स्रोतले दियो । एमाओवादीका समाजवादी आन्दोलनको स्वरूप र क्रान्तिकारीको जनवादी आन्दोलनको स्वरूप असफल भएकाले अब नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा समेत दुवै पक्ष सहमत भएका छन् ।



No comments