लेकसाइडका अधिकांश मसाज पार्लर र स्पामा यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । महिला उत्थान तथा जागरण केन्द्र, कास्कीले पोखराका १८ वडामा गरेको यौनकर्मीको अवस्था सम्बन्धी सर्वेक्षणले यस्तो देखाएको हो ।
केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा लेकसाइडका मसाज सेन्टर, स्पा र होटल तथा रेस्टुरेन्ट यौन व्यवसाय सञ्चालन गरेको उल्लेख छ ।
‘बिदाको दिन बढी मात्रामा जागिरेहरु मसाज गर्न पुग्छन्,’ एक युवतीलाई उद्धृत गर्दै उनले भनिन्, ‘मसाज गरिसकेपछि यौन सम्पर्कका लागि ‘ह्याप्पी इन्डिङ’ गर्ने भन्दा रहेछन् ।’ पौडेलले यस्ता मसाज सेन्टर र स्पामा केही सञ्चालकको करकापले, केही आर्थिक अभाव र केही साथीभाइको लहलहैमा देहव्यापार गर्न वाध्य भएको बताइन् ।
मसाज पार्लर र स्पाको बोर्ड टाँगिने भए पनि त्यसभित्र यौन व्यवसाय नै सञ्चालन हुने गरेको केन्द्रकी अध्यक्ष गीता पौडेल बताउँछिन् । लेकसाइडका कतिपय होटल र रेस्टुरेन्टका सञ्चालकले युवतीहरुलाई जबरजस्ती यौन व्यवसायमा लगाउने गरेको उनले खुलाइन् ।
लेकसाइडको एक नाम चलेको होटलले सञ्चालन गरेको स्पामा काम गर्ने १७ वर्षीया युवतीले सञ्चालककै करकापमा यो पेसामा लागेको बताइन् । ‘मसाज गरिसकेपछि ग्राहकले इच्छा पूरा गर्न प्रस्ताव राख्दा साहुलाई गुहारे,’ अध्ययन टोलीसँग उनले भनिन्, ‘जाऊँ केही हुँदैन, धेरै पैसा पाइन्छ भनेपछि यो पेसा अपनाउन थालें ।’
एक महिलाले आर्थिक अवस्था कमजोर देखेर साहुले नै मसाज सेन्टर खोलिदिएको बताइन् । ‘उहाँको इच्छा अनुसार मैले यो सञ्चालन गरेकी हुँ,’ अध्ययन टोलीसँग उनले भनिन्, ‘यसको आम्दानी सबै मैले नै खर्च गर्छु । केबल उहाँको इच्छा पूरा गरिदिनुपर्छ ।’
अर्की एक १९ वर्षीया युवतीले आमाले नै सुरुमा मसाज सेन्टरमा काममा लगाइदिएको बताइन् । उनले अहिले आफ्नो आमा छोरी नै यही पेसामा संलग्न रहेको भन्न अप्ठेरो मानिनन् । ती युवती यो पेसा आफूहरुको बानी नै बनिसकेकोले यसलाई छाडेर बाहिर जान नसक्ने बताउँछिन् ।
त्यस्तै, अर्को एक स्पा सञ्चालक महिलाले छोरीको मृगौला फेल भएपछि उनको उपचार गर्न बाध्य भएर यो पेसा अपनाएको बताइन् । उनी भन्छिन्, ‘अहिले यो पेसाबाट नै छोरीको उपचार खर्च र पढाई खर्च पुगिरहेको छ । यो पेसा गर्नु मेरो कुनै रहर होइन, बाध्यता हो ।’
लेकसाइडका होटलमा विदेशी पाहुनाका लागि समेत युवती व्यवस्था हुने गरेको अध्ययनका क्रममा देखिएको छ । अध्ययन टोलीकी संयोजक चेमली परियारले विदेशी पाहुनालाई खुसी बनाउन यौनकर्मी युवती बेलुका ९ बजे होटलमा पुग्ने र बिहान ५ बजे फर्किने गरेको बताइन् ।
संस्थाकी सचिव समेत रहेकी परियारले होटलकै सम्पर्कमा विदेशीको लागि युवतीहरुको व्यवस्था गर्ने गरिएको बताइन् । उनले अध्ययनका क्रममा केही होटल तथा रेस्टुरेन्ट सम्पर्क स्थानका रुपमा पनि प्रयोग हुने गरेको फेला परेको बताइन् । ‘ती होटल तथा रेस्टुरेन्टमा दलालहरुले सम्पर्क गरेर बाहिर लैजान्छन् र पुनः त्यही लगेर छाडिदिन्छन्,’ उनले भनिन्, ‘बढी पैसा होटल तथा रेस्टुरेन्ट मालिकले बुझ्ने रहेछन्, थोरै मात्र यौनकर्मीलाई दिने गर्दा रहेछन् ।’
कतिपय यौनकर्मी ती होटल तथा रेस्टुराँको सम्पर्कबाटै पोखराबाहिर जाने र इच्छा अनुसारको पैसा लिने गरेको उनले जानकारी दिइन् ।
संस्थाकी अध्यक्ष गीता पौडेलले होटेल तथा रेस्टुरेन्ट सञ्चालक भने यो तथ्यलाई स्वीकार्न तयार नभएको बताइन् । उनले अध्ययन टोलीले तयार गरेको प्रतिवेदन सार्वजनिक नगर्न धम्की समेत आएको दाबी गरिन् । पौडेलले मसाज पार्लर र स्पाहरुमा जबर्जस्ती देहव्यापारमा लगाउनु पनि आन्तरिक मानव बेचविखन भएको बताइन् ।
उनले त्यस्तो कार्य गर्नेलाई कानुनी दायरामा ल्याएर नियन्त्रण गर्नुपर्ने धारणा राख्छिन् । उनले भनिन्, ‘बलपूर्वक यौन व्यवसायमा लगाउँदा एकातर्फ समाज अमर्यादित हुँदै जान्छ र अर्कोतर्फ मानव बेचबिखनजस्तो अपराधले प्रश्रय पाउँछ ।’ पौडेलले यौनकर्मीलाई वैकल्पिक पेसामा आकर्षित गरी विकृतिमुक्त पोखराको निर्माण गर्नु अध्ययनको उद्देश्य रहेको बताइन् ।
No comments