पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तनहुँको व्यास नगरपालिका –६ साँघे की ३५ वर्षीया मनुमाया थापाले अनौंठो बच्चाको जन्म दिएकी छिन । टाउकाको खप्पर विकास नभएको छोरा आइतबार साँझ उनले जन्माएकी हुन् ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर श्रीकृष्ण श्रेष्ठका अनुसार बच्चाको खप्पर विकास नहुँदा टाउकाका सबै अंग बाहिर छन् साथै बच्चाको दाहिने हात पनि छैन । खुट्टादेखि मुखसम्मको भाग समान्य भए पनि अनुहार र टाउकाको भाग एउटै डल्लो छ ।
बच्चालाई एनसियुमा राखिएको छ । एनसियु वार्डमा कायरत नर्सका अनुसार चिकित्सको सल्लाह अनुसार बच्चालाई नर्सिङ केयर मात्र गरिएको छ । एनसियुमा कार्यरत नर्स सीता गुरुङले बच्चाले ग्लुकोज पानी निलेको र पिसाब गरेको बताइन् । अस्पतालका अनुसार साेमबार दिउँसो बच्चालाई मुखबाट ग्लुकोज पानी खुवाइएको थियो भने साँझ नसाबाट स्लाइन दिइएको छ ।
बालरोग विशेषज्ञ समेत रहेका अस्पतालमा सुपरिन्टेन्डेन्ट श्रेष्ठले वंशानुगत गुण, आमाले साइड इफेक्ट हुने औषधी सेवन गरेमा, भिटामिनको कमी एवं एक्सरे, रेडिएसन, सिटिस्क्यान लगायतको असरले कहीलेकाँही असामान्य बच्चा जन्मिने बताए । उनका अनुसार यो बच्चाको उपचार सम्भव छैन । ‘अस्पतालमा टाउकोको खप्पर नै विकास नभएको बच्चा जन्मिएको यो पहिलो हो,’ श्रेष्ठले भने,‘ यसको उपचार सम्भव छैन ।’ चिकित्सा विज्ञानका अनुसार १० लाख बच्चामा एउटा बच्चा यस्तो जन्मिने गरेको पाइएको छ । यसलाई ए क्यालबारिया भन्ने गरिएको छ । यसरी जन्मिने बच्चा एक वर्षसम्म बाँचेको इतिहास भएको श्रेष्ठले बताए ।
अस्पतालमा २४ वर्षदेखि काम गर्दै आएकी एनसियु वार्डकी पूर्व इन्चार्ज गीता तिवारीले मुटु शरीरको बाहिर भागमा भएको, हात नभएको, पेट नै विकास नभएको बच्चा अस्पतालमा जन्मिए पनि टाउको विकास नभएको बच्चा पहिलो पटक जन्मिएको बताइन् । उनका अनुसार यस्ता बच्चा लामो समय बाँचेका छैनन् ।
मनुमायालाई बेथा लागेपछि आइतबार दमौली अस्पताल पुगिन् । चिकित्सकले पोखरा रेफर गरेपछि उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आएकोमा साँझ ५ः२० मा बिना शल्यक्रिया बच्चा जन्माएकी थिइन् । २ छोरीकी आमा मुनमायाले गर्भवती हुदाँ आफूले कुनै औषधी सेवन नगरेको र बच्चाको बारेमा थाहा पाउन भिडियो एक्सरे लगायत कुनै जाँच नगरेको बताइन् ।
उनका १४ र ११ वर्षीया छोरी छन् । दुबै छोरीलाई घरमा नै जन्माएकी थिइन् । दुई छोरीपछि जन्मिएको बच्चा असामान्य भएपछि उनीहरु निरास छन् । थापा परिवार सामान्य आर्थिक अवस्थाको हो ।
No comments