कलैया माघ २, कलैया । गढीमाई दर्शन गर्न भन्दै सीमामा रहेका नेपाली सुरक्षाकर्मीलाई झुक्याएर नेपाल प्रवेश गरेका भारतीय प्रहरीले बारा कलैयाबाट एक व्यापारीलाई नियन्त्रणमा लिन गरेको प्रयास स्थानीयको प्रतिकारमा असफल भएको छ ।
बाराको मटिअर्वा नाकाबाट सादा पोसाकमा गढीमाई दर्शन गर्न भन्दै नेपाल प्रवेश गरेका ७ जना भारतीय प्रहरीको टोलीले कलैयामा किराना पसल सञ्चालन गर्दै आएका भारत सीतामढीका पप्पु साहलाई नियन्त्रणमा लिन प्रयास गरेको छ ।
कलैया पांचमा रहेको साहको किराना पसललाई बिनाकारण घेरा हालेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेपछि कलैया बजार क्षेत्र बिहीबार साँझ तनावपूर्ण बनेको थियो । अपहरण र हत्याको अभियोगमा साहलाई पक्राउ गर्न कलैया आएका भारतीय प्रहरीले आफ्नो परिचयपत्र नै नदिई उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
अपरिचित समूह बजार प्रवेश गर्दै पप्पु साहलाई नियन्त्रणमा लिएर गाडीमा हाल्न थालेपछि स्थानीयले होहल्ला गरेर प्रतिकार गरेका थिए । होहल्ला पछि परिचयनै नदिई साहलाई पक्राउ गर्ने भारतीय प्रहरीको योजना विफल भएको थियो ।



No comments