काठमाडौं, पुस २७ । जावलाखेलको स्टाफ कलेजमा सामान्य प्रशासन मन्त्रालयले सोमबार निजामति सेवामा महिला सहभागितासम्बन्धी कार्यक्रम आयोजना गरेको थियो प्रमुख अतिथि थिए-प्रधानमन्त्री केपी शर्मा ओली, जहाँ उनले महिलालाई पुरुषभन्दा इमान्दार र सोझा देखाउन गाई र कुखुराको पोथीसँग तुलना गरे ।
प्रशिद्ध अमेरिकन समाजशास्त्री मोर्गनकै शैलीमा विश्लेषण गर्दै प्रधानमन्त्री ओलीले महिलासम्बन्धी कार्यक्रममा कुखुराका भाले र पोथीको विशेषता केलाउने प्रयास गरे ।
कुखुराका भालेहरु आपसमा भेट भए भने लड्ने र गोरुहरु आपसमा भेट भए भने जुधिहाल्ने उदाहरण दिँदै प्रधानमन्त्रीले भने-दुईवटा गाई भेट भएर झगडा गरेको कहिल्यै देख्नुभएको छ ? दुईवटा गोरु भेट भए भने यसो गर्छन् (जुध्न लागेको जस्तो) । जिन्दगीमा पहिलोपटक भेट भएको हुन्छ, तर, निहुँ खोजिहाल्छन् ।’
प्रधानमन्त्रीले कुखुराको पोथीहरु भेट्दा नजुध्ने तर, भाले भेट्यो कि झगडा गर्ने गरेको बताए । महिलाहरुमा ‘कम्प्रमाइजिङ एटि्टट्युट’ हुने भन्दै उनले भने-वीरगञ्ज नाकामा धर्ना बसेको एउटा पनि महिला छैन… लाठी लिएर पिट्ने पनि महिला छैनन् बरु नहान नहान भन्छन् ।’
प्रधानमन्त्री ओलीले सामान्य प्रशासनमन्त्री महिला र आफू महिलामैत्री भएर पनि एक जना महिलालाई पनि सचिव बनाउन नसकेको बताए । ‘दुनियाँमा जहाँ गए पनि छाती फुलाएर धाकसँग नै कुरा गर्न सक्छु’ उनले भने-छोटो समयमा हामीले ३३ प्रतिशत महिलाको सहभागिता गराएका छौं । स्थानीय निकायमा ४० प्रतिशत सुनिश्चित गरेका छौं । निजामतिमा भनेपछि त्यो चै भनेर अर्को-अर्को कुरा गर्नुपर्ने छ ।’
कसैले उच्च ओहोदामा, निजामति सेवामा महिलाको स्थिति के छ भन्यो भने राष्ट्रपतिलाई देखाउन गरेको ओलीले भने- के कर्मचारीको कुरा गरिराख्या, राष्ट्रपति हेर न ! तर, यो पर्याप्त जवाफ होइन । महिलालाई महत्वका साथ अगाडि बढाउनुपर्छ ।’
महिलाहरुलाई सत्केरी विदा बढाउने मागको विरोध गर्नेहरुलाई पनि जवाफ दिए । ‘महिलाहरु छुट्टी लिएर अनुकूलतामा बसेर यदि नहुर्काएको भए आज एउटा पनि महिला सचिव नभएर सबै पुरुषै पुरुष कहाँबाट हुन पाउँथे होला ?’ प्रधानमन्त्री ओलीले व्यग्य गर्दै भने ।
उलले अघि भने-यदि जनसंख्या घटेर आयो भने काउन्सिलिङ गर्नुपर्छ महिलालाई प्लिज बच्चा पाइदेऊ न ! रुसले के गर्छ, बेलारुसले के गर्छ ? बिहे गरेपछि महिलालाई फकाउन थाल्छ । गर्भवती भयो भने यो सुविधा हुन्छ भनेर । ‘
प्रधानमन्त्रीले आफ्नो कुरालाई पत्रकारले हास्यव्यंग ठान्न सक्ने बताउँदा हलमा हाँसो छाएको थियो । प्रधानमन्त्री ओलीले यसो भन्दाभन्दै पनि उनले भाषण गरुञ्जेल सहभागीहरुले हास्य कलाकारको भन्दा कम आनन्द लिएनन् ।
No comments