अन्तर्राष्ट्रिय मूल्य धेरै घटे पनि समायोजन नगर्नमा आन्तरिक कारण
काठमाडौं: नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारका आधारमा इन्धनको मूल्य समायोजन नगर्दा नेपाली उपभोक्ता यतिखेर महँगो मूल्यमा इन्धन खरिद गर्न बाध्य छन् । अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार भारतमै मूल्य समायोजन नहुँदा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले उपलब्ध गराएको मूल्यको आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ ।
आईओसीसँग निगमले इन्धन खरिद गर्दै आएको छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारका आधारमा नभई आईओसीले हरेक महिनामा दुईपटक पठाउने मूल्य सूचीको आधारमा समायोजन गर्दै आएको जनाएको छ ।
निगमले आईओसीसँग प्रत्यक्ष कारोबार गर्ने भएकाले उसले निर्धारण गरेको मूल्यमा निगमले खरिद गर्दै आएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । उनका अनुसार नेपालमा भारतीय सीमा क्षेत्रमा भएको इन्धनको मूल्य र निगमले लिएको ऋणको आधारमा मूल्य प्रभावित हुँदै आएको छ ।
आईओसीबाट प्राप्त गर्ने मूल्य सूचीको आधारमा निगमले इन्धनको मूल्य समायोजन गर्दै आएको छ । आईओसीले १५ दिनको औसत मूल्यलाई आधार मानेर प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची निगमलाई उपलब्ध गराउँदै आएको छ ।
आपूर्ति मन्त्रालय स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि भारतको विभिन्न प्रदेशमा इन्धनसम्बन्धी छुट्टाछुट्टै कर राख्ने व्यवस्था छ । सबै प्रकारका कर जोडेर आईओसीले निगमलाई रक्सौलको मूल्यमा इन्धन उपलब्ध गराउँदै आएको छ, जसका कारण भारतमै अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धन पाइँदैन ।
‘स्वचालित मूल्य प्रणाली लागू भएपछि हामीले ऋण लिएको शीर्षक र ऋण बापतको ब्याज थपेर उपभोक्ताबाट प्रतिलिटरमा केही रकम लिँदै आएका छौं', घिमिरेले भने, ‘निगमलाई धराशयी हुनबाट जोगाउन उपभोक्ताबाट केही थप रकम लिँदै आएका छौं । यही थप रकमका कारण निगम अहिले ठूलो ऋण चुक्ता गर्न सफल भएको छ ।'
उपभोक्ताबाट असुल गरिएको थप रकमकै कारण निगम अहिले मासिक ४२ करोड नाफामा छ । निगमले गत आर्थिक वर्षमा १७ अर्ब खुद नाफा गरेको थियो ।
निगमले आईओसीसँग पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ १२ पैसा, डिजेल र मटीतेल ३२ रुपैयाँ ३२ पैसा र हवाई इन्धन ३१ रुपैयाँ ४२ पैसामा खरिद गर्छ ।
उपभोक्ताबाट यसरी असुलिन्छ थप मूल्य
अन्तर्राष्ट्रिय मूल्यअनुसार आईओसीले पठाउने मूल्य सूचीको आधारमा निगमले २०७१ असोज १३ देखि कार्यान्वयनमा ल्याएको स्वचालित मूल्य प्रणालीमा ऋणबापतको रकमसमेत जोडेर उपभोक्ताबाट असुल गरेकाले इन्धनको मूल्य सस्तो हुन नसकेको हो । निगमले ‘लोन पेमेन्ट' शीर्षकअन्तर्गत उपभोक्ताबाट प्रतिलिटर पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धनमा चार रुपैयाँ नौ पैसा असुल गर्दै आएको छ ।
यसैगरी प्रतिसिलिन्डर ग्यासमा ५८ रुपैयाँ सात पैसा पनि उपभोक्ताबाट थप असुल हुँदै आएको छ । यस्तै ऋणबापत लाग्दै आएको ब्याज चुक्ता गर्न पनि आवश्यक पर्ने रकम उपभोक्ताबाट असुल गरिन्छ ।
ब्याज चुक्ता गर्न निगमले प्रतिलिटर पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धन बिक्री गरेबापत उपभोक्ताबाट ५० पैसाका दरले थप रकम लिँदै आएको छ । निगमले विभिन्न निकायबाट लिएको ऋणबापतको रकम चुक्ता गर्न उपभोक्ताबाटै थप रकम असुल गरेकाले उपभोक्ताले बढी मूल्यमा इन्धन खरिद गर्नुपर्ने बाध्यता छ ।
निगमले उपभोक्ताबाट यो रकम असुल नगरेको भए अहिले पेट्रोल प्रतिलिटर ९४, डिजेल र मटीतेल ७०, हवाई इन्धन एक सय आठ र ग्यास प्रतिसिलिन्डर एक हजार तीन सय ९५ रुपैयाँमा पाइन्थ्यो । निगमले गत माघ ४ गते निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार उपभोक्ताले अहिले पेट्रोल प्रतिलिटर ९९, डिजेल र मटीतेल ७५ र हवाई इन्धन एक सय नौ रुपैयाँमा खरिद गर्दै आएका छन् ।
निगमका अनुसार अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ ५४ पैसा, डिजेलमा १५ रुपैयाँ ८१ पैसा, मटीतेलमा २६ रुपैयाँ ८० पैसा नाफा छ ।
निगमले सरकारसँग १२ अर्ब ६४ करोड १० लाख, नागरिक लगानी कोषबाट नौ अर्ब ३८ करोड ६० लाख, कर्मचारी सञ्चय कोषबाट १२ अर्ब ६० करोड, विभिन्न बाणिज्य बैंकबाट दुई अर्ब २४ करोड गरी ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँ ऋण लिएको थियो ।
त्यसमध्ये नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र वाणिज्य बैंकलाई गरेर २४ अर्ब २२ करोड ६० लाख रुपैयाँ चुक्ता गरेको छ । सरकारबाट लिएको ऋण चुक्ता गर्न बाँकी छ ।
No comments