काठमाडौं महानगरपालिकाले विद्युतीय नक्सापास प्रणाली अर्थात् इलेक्ट्रोनिक्स बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) को सुरुवात गरेको छ। उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले आइतबार एक कार्यक्रमबीच ईबीपीएसको उद्घाटन गरेका हुन्।
ईबीपीएस भवनका नक्सापास गर्न व्यवस्थित बनाउने प्रणाली हो। यसमा सबैभन्दा पहिले डिजाइनरलाई ‘युजर नेम’ र ‘पासवर्ड’ दिइन्छ। कार्यालयले उपलब्ध गराएको युजर नेम र पासवर्ड भरिसकेपछि व्यक्तिगत विवरण भर्ने पेजमा पुगिन्छ। यस पेजमा जग्गाको विवरण अर्थात् लालपुर्जा, घरको नक्सा, नापीनक्सा सम्बन्धी विवरण भर्नुपर्छ। यस्तै, ‘वाइलज’ र ‘बिल्डिङ कोड’ सम्बन्धी विवरण तथा व्यवस्था पनि यसै पेजमा भर्नुपर्छ।
विवरण भरिसकेपछि यो फर्म घर नक्सा डिजाइनरले महानगरको रजिस्ट्रेसन डेक्समा पठाउँछन्। रजिस्ट्रेसन डेक्सले फारम भरेको वा अपलोड गरिएका कागजात मिले नमिलेको जाँच गर्छन्। नमिलेको भए कमेन्टसहित डिजाइनरलाई सच्याउन फिर्ता पठाउँछन् भने विवरण सही भए ‘टेक्निकल डेक्स वान’ मा पठाउँछन्। जहाँ बिल्डिङ वाइलजको परीक्षण हुन्छ। टेक्निकल डेक्स वानमा विवरण ठीक भए त्यसलाई टेक्निकल डेक्स ‘टु’ मा पठाइन्छ जहाँ बिल्डिङ कोडका पक्षबाट कागजपत्र जाँच गरिन्छ।
महानगरले अघि बढएको ईबीपीएसले सुशासनमा राहत मिल्ने मन्त्री थापाले बताए। उनले भने, ‘भवन निर्माण प्रक्रियामा कानुनको पालनामा अब सुधार आउने अपेक्षा छ।’


No comments