२१ मंसिर - नेपालमाथि भारतले नाकाबन्दी लगाएर गरिरहेको अमानवीय व्यवहारको विरोधमा भारतमा रहेका नेपाली राजनीतिक दलका प्रवासी संघ/संगठनले जन्तरमन्तरमा बिरोध सभा अयोजना गरेका छन्।
जनमोर्चाको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, एमाले भ्रातृ संगठन प्रवासी नेपाली संघ र एमाओवादीको अखिल भारत नेपाली एकता मञ्चका दिल्लीमा रहेका २ हजाभरन्दा बढी कार्यकर्ता जन्तमरमन्तरमा भेला भएर विरोधसभा गरेका हुन्। सभामा माओवादी वैद्य समूहअन्तर्गतको एकता मञ्चको पनि सहभागिता थियो तर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समितिले भने विरोधसभामा सहभागी भएन।
‘नेपाल–भारतबीच सामाजिक, सांस्कृतिक र भौगोलिक अन्तरसम्बन्ध रहेको यथार्थ आफ्नो ठाउँमा छ तर, एउटा भूपरिवेष्ठित मुलुकलाई अन्तर्राष्ट्रिय कानुनले दिएको सहज पारवहनको सुविधासमेत रोक्ने अवस्था निन्दनीय छ, यो अमानवीय कदमको हामीले खुलेर विरोध गर्न चाहेका हौं,’ प्रवासी नेपाली संघका अध्यक्ष टीकाराम पोखरेलले कान्तिपुरसँग भने। कुनै देश वा सरकारको विरोधका रूपमा बुझ्नुभन्दा पनि एउटा सार्वभौम मुलुकले पाइआएको अन्तर्राष्ट्रिय मान्यताको हक/अधिकार खोसिएको अवस्थामा जोकोही सचेत नागरिकले विरोध गर्नैपर्ने उनको धारणा थियो।
नया दिल्लीको जन्तमरमन्तरमा भएको समारोहमा मानवअधिकारवादी नेता प्रमोद काफ्ले, कम्युनिस्ट पार्टीका वरिष्ठ भारतीय नेताहरू सी. रामचन्द्रन, पीके शाही, हरिश त्यागी, प्रकाश रायलगायतले नाकाबन्दीमा देखिएको भारतीय मनसायको विरोध गरेका थिए। नेपाली संगठनसम्बद्ध आरबी खड्का, ठाकुर खनाल, हरि थापा, मित्रलाल शर्मा, रमेश गैरे, लक्ष्मण पन्त, गोपाल थापालगायतले सभामा भारतको नियोजित रणनीतिका विरोधमा मन्तव्य राखेका थिए। नाकाबन्दीको विरोधमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार ज्ञापनपत्र दिइने कार्यक्रम सञ्चालक आरबी खड्काले बताए।



No comments