काठमाडौं, कात्तिक १९ । सरकार गठन भएको एक महिना हुन लाग्दा पनि मन्त्रिमण्डल विस्तारबाहेक अन्य उल्लेख्य काम गर्न नसकेका प्रधानमन्त्री केपी ओली आफ्नै दलभित्रको अन्तरविरोधमा जेलिन पुगेका छन् । विहीबार सरकार विस्तारपछि एमालेमा थप अन्तरविरोध देखा परेको छ ।
प्रधानमन्त्री ओलीले सरकार विस्तारका क्रममा मधेसलाई पूरै वेवास्ता गरेको असन्तुष्ट नेताहरुले गुनासो पोखेका छन् ।
सरकार गठनमा आफ्नो पक्षलाई समावेश नगरी पार्टी अध्यक्ष ओली एकलौटी रुपमा अघि बढेको भन्दै माधव नेपाल पक्ष रुष्ट बनेको छ । विहीबार सरकार गठनपूर्व बरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री ओलीले मन्त्रीबारे छलफल गर्न भन्दै बालुवाटार बोलाएका थिए । तर, नेपालको सुझाव कार्यान्वयन नभएको गुनासो आएको छ ।
आफूलाई मन्त्री नबनाएर अग्नि खरेललाई बनाएको भन्दै ओली पक्षका नेता दीपक कार्की यसअघि नै केपी ओलीसँग रुष्ट भइसकेका छन् । विहीबारको मन्त्रिपरिषद विस्तारमा नपरेपछि ओली पक्षका अन्य नेतासमेत प्रधानमन्त्रीसँग रुष्ट बनेका छन् ।
के हो असन्तुष्टि ?
एमाले स्रोतका अनुसार माधव नेपाल पक्षका पशुपति चौलागाईलाई मन्त्री बनाउने आश्वासन दिएर ओलीले आनन्द पोखरेललाई मन्त्री बनाएकोमा नेपाल पक्ष असन्तुष्ट बनेको छ ।
चौलागाई एमालेका पोलिटब्यूरो सदस्य हुन् । तर, पोखरेल एमालेको आठौं र नवौं दुईवटै महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव हारेका व्यक्ति हुन् ।
ओलीले सरकार विस्तार गर्दा मधेसलाई बेवास्ता गरेको असन्तुष्ट पक्षको आरोप छ । ‘पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरो बैठकहरुमा मधेसलाई प्राथमिकता दिने र मधेसमा अभियान चलाउने भनिएको थियो,’ ‘’तर, सरकार विस्तारमा मधेसलाई पूरै बेवास्ता भयो, जनकपुर र वीरगञ्जलाई बेवास्ता गरियो ।
एमाले स्रोतका अनुसार मधेसबाट शत्रुघन महतो र नागेन्द्र चौधरीलगायतलाई मन्त्री बनाउने र उनीहरुमार्फत् मधेसमा संगठन विस्तार अभियान अघि बढाउने आन्तरिक तयारी थियो । तर, ओलीले मधेसी समुदायलाई महत्व नदिँदा यो योजना संकटमा परेको असन्तुष्ट नेताहरुको बुझाइ छ ।
सरकारमा विश्वेन्द्र पासवानलाई मन्त्री बनाउने तर एमालेकै मधेसी नेतालाई अवसर नदिने कार्यले मधेसमा एमालेलाई थप कमजोर बनाउने बुझाइ माधव नेपाल पक्षधर नेताहरुको छ । स्रोतले भन्यो,’ सरकारमा सहभागी विजय गच्छदारको पार्टीका मधेसीलाई गनेर हुँदैन, एमालेको सहभागिता कमजोर भयो ।’
उहाँले प्रधानमन्त्री भएको प्रमाण दिनुभयो:
सरकार विस्तारबारे जिज्ञासा राख्दा एमाले सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले अनलाइनखबरसँग भने- ‘कतिपय मानिसहरुले प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाएका थिए, तर विहीबार उहाँले मन्त्रिमण्डल विस्तार गरेर आफू प्रधानमन्त्री भएको प्रमाणित गर्नुभएको छ ।’
सचिव भट्टराईले अध्यक्ष ओलीको कार्यप्रति असन्तुष्टि जनउँदै भने- ‘हामीले पार्टीको बैठकमा कतिपय प्रश्नहरु उठाएका थियौं, उहाँले यी आशंकाहरुलाई गलत सावित गर्दिन्छु भन्नुभएको थियो, तर विहीबारको उहाँको कदमले आशंकालाई अझ बल प्रदान गरेको महसुस भएको छ । मन्त्रिपरिषद विस्तारबाट उहाँले आफू प्रधानमन्त्री भएको जानकारी दिनुभएको छ ।’
त्यस्तै श्रीमाया थकाली, प्रेम आले र रवीन्द्र अधिकारीलाई पनि मँत्री नबनाइएकोमा एमालेभित्र असन्तुष्टि बढेको छ । ओलीपक्षकै भानुभक्त ढकाल पनि मन्त्रीको सूचीमा परेका छैनन् ।



No comments