३१ वैशाख, काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले नेपालका भूकम्प पीडित बालबालिकालाई झण्डै ८० करोड रुपैयाँ सहयोग गरेको समाचार निकै चर्चित बन्यो ।
बेलायतको डेलिमेलसहितका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले रोनाल्डोले सेभ द चिल्ड्रेनमार्फत रोनाल्डोले सहयोग गरेको समाचार प्रकाशित गरेका थिए । तर, रोनाल्डोले नेपालका भुकम्प पीडितका लागि सहायता रकम प्रदान गरेको भन्ने समाचार झुटो रहेको प्रमाणित भएको छ ।
सेभ द चिल्ड्रेनले रोनाल्डोबाट नेपालका भूकम्प पीडितको सहयोगका लागि कुनै रकम प्राप्त नभएका जनाएको छ । सेभ द चिल्ड्रेनका ग्लोबल सद्भावना दूत समेत रहेका क्रिस्टियानो रोनाल्डोले रकम प्रदान नगरेको स्पष्ट पार्दै सेभ द चिल्ड्रेनले भनेको छ-‘नेपालको आकस्मिक प्रतिकार्यका लागि सेभ द चिल्ड्रेन नेपाललाई क्रिष्टियानो रोनाल्डोले सहायता प्रदान गरेको भन्ने पछिल्लो सूचना गलत हो ।’
एक विज्ञप्तिमार्फत संस्थाले आफ्ना ग्लोबल सद्भावना दूत रोनाल्डोले भूकम्प प्रभावित नेपाल सहित विश्वका जोखिममा परेका बालबालिकाले सामना गरिरहेको समस्याका विषयमा जनचेतना जगाउन आफ्नो आवाज तथा विश्वव्यापी दृष्टिकोणको प्रयोग गरिरहेको बताएको छ ।
साथै नेपालमा गएको दोश्रो शक्तिशाली भूकम्पपछि रोनाल्डो सहितका अन्य प्रभावशाली व्यक्तित्वहरुले नेपालका बालबालिका तथा परिवारले भोगिरहेको समस्याका विषयमा प्रकाश पार्न सहयोग गरेको भन्दै धन्यवाद दिएको द गार्जियनले जनाएको छ ।



No comments