काठमाडौँ : तराई-मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुको बैठकले आफ्ना माग पूरा नभए वैशाखको पहिलो सातादेखि पुनः कडा आन्दोलनमा जाने निर्णय गरेको छ।
बैठकमा मोर्चाको सचिवालयले प्रस्तुत गरेको रिपोर्टमाथि छलफल भएको थियो। सचिवालयले आन्दोलनको समीक्षाका साथै आगामी आन्दोलनको तैयारी र त्यसकालागि ध्यान दिनु पर्ने क्षेत्र-समूहहरु, चरणवध्द आन्दोलनको स्वरुप आदिबारे सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो।
मोर्चाका मागहरु मध्ये सीमाङ्कनको विषयमा सम्बोधन गर्न तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन दिने गरी उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा मधेसी मोर्चाको सहभागिता बिना उच्चस्तरीय समिति गठन गरिएको थियो। प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको अघिल्लो रात हतारहतार गठन गरिएको समिति अहिले निस्क्रिय झैँ छ।
उता, भारतले इयुसँगको संयुक्त विज्ञप्तिमा समयसीमा समेत उल्लेख गर्दै संविधानका बाँकी विषय सल्टाउनु पर्ने बताएको छ। नेपाल सरकारले आज त्यसको कडा प्रतिक्रिया जनाएपछि अन्तर्राष्ट्रिय मञ्चमा २ देशबीच कुटनीतिक दोहोरी चलेको छ।
No comments