नेपाल र चीनबीच भएको १० बुँदे सम्झौताले भारत पनि खुसी भएको उपप्रधान तथा रक्षामन्त्री भीम रावलले दाबी गरेका छन ।
‘स्वतन्त्र र सार्वभौम देशको नाताले नेपालले चीनसँग सम्झौता गर्दा भारतलाई अन्यथा लाग्नुहुँदैन । भारतले पनि अरु देशसँग सम्झौता गर्दा हामी खुसी हुन्छौ भने हामीले गर्दा पनि भारत खुसी नै हुनु पर्छ’ । रिपोर्टर्स क्लब नेपालले बुधवार गरेको साक्षात्कारमा उनले भने, ‘छिमेकी समृद्ध भए भारतीय जनता र भारतलाई पनि फाइदा हुन्छ । त्यसैले भारत पनि यो सम्झौताले खुसी छ ।’
साक्षात्कारमा उपप्रधानमन्त्री रावलले अहिलेसम्म भारतीय भूमिबाट मात्रै तेस्रो देशसँगको ब्यापार हुने गरेकोमा अहिलेको सम्झौताले चीनको भूमिबाट समेत तेस्रो मुलुकसँगको ब्यापार गर्न पाइने भएकाले यसले मुलुकलाई दीर्घकालिन फाइदा गर्ने विश्वास ब्यक्त गरे ।
नेपालले आवश्यकता अनुसार जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने भन्दै अहिले प्राविधिक कारणले मात्रै चीनसँग इन्धन सम्झौता हुन नसकेको उनले बताए ।
‘इन्धन सम्झौता गर्न नेपाल र चीन दुबै पक्ष सहमत छन्’, उपप्रधानमन्त्री रावलले भने, ‘तेलको मुल्य, ढुवानी र कर लगायतका प्राविधिक पक्षको टुङ्गो लागिनसककोले अहिले सम्झौता हुन नसकेको हो ।’
उनले छिमेकीहरुसँग पारस्परिक हित, लाभ र समानतामा आधारित रहेर सम्बन्धलाई अझै फराकिलो र गहिरो बनाउन लागि परेको दाबी गर्दै चीनसँग भएको सम्झौता नेपालको आर्थिक विकास र दुई मुलुकको सम्बन्धलाई अझै गहन बनाउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे ।
‘यो सम्झौता ऐतिहासिक र दीर्घकालिन प्रभाव पार्ने खाल्को छ’, उनले भने, ‘नेपाल सार्वभौम राष्ट्र भएकोले दीगो शान्ति, स्थायीत्व र विकासका लागि सम्झौता गर्न सक्छ । यो नेपालको हितमा कोशेढुंगा सावित हुन्छ ।’
उपप्रधानमन्त्री रावलले नेपालले चीनसँग पारवहन सुविधान लिनु भारतविरोधी नहुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी भारत र चीनको भ्रमण नेपालको हितमा रहेको दाबी गरे ।
उनले चीनसँग भएको सम्झौता कार्यान्वयनमा आशंका नगर्न आग्रह गर्दै सम्झौता भएसँगै अब त्यसको कार्यान्वयनको प्रक्रिया सुरु भएको र त्यसकोलागि सबै एकजुट भएर लाग्नुपर्ने जोड दिए ।
उपप्रधानमन्त्री रावलले प्रधानमन्त्रीको भ्रमणको एजेण्डा सार्वजनिक भएपछि मधेसी मोर्चासहितका दलहरुले चिनियाँ राजदुतलाई ज्ञापन पत्र बुझाउनु राष्ट्रहित र स्वार्थविपरित काम भएको भन्दै नेपाली जनताको हितको लागि राजनीति गर्ने दलहरुले यस्तो गर्न नसुहाउने धारणा ब्यक्त गरे ।



No comments