दाङ। धामीले प्यारालाइसिस रोग निको पार्ने भन्दै तातोपानी शरीरमा खनाइदिँदा गम्भीर घाइते भएकी हाँसीपुर–१ दाङकी थुमसरा विकको उपचारमा आर्थिक समस्या परेको छ ।
आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको उनकी छोरी दमन्ता विकले बताइन् । कोइलावासमा आफूलाई धामी बताउने कमल क्षेत्रीले प्यारालाइसिस निको पार्ने भन्दै फागुन २६ गते थुमसराको शरीरमा तातोपानी खन्याइदिएका थिए ।
थुमसरालाई गम्भीर घाइते अवस्थामा तातोपानी खन्याएको १० दिनपछि मङ्गलबार मात्रै राप्ती उपक्षेत्रीय अस्पतालमा ल्याइएको थियो । शरीरको दाहिने भाग २० वर्षदेखि नचल्ने अवस्थामा रहेकी थुमसरालाई निको पार्ने भन्दै धामीले तातोपानी शरीरमा खन्याएका थिए ।
घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाइ पाल्पाको मिसन अस्पतालमा पुर्याइएको छ । ऋण काढेर उपचारका लागि पाल्पा पुर्याइएको र उपचारमा सहयोग गरी ज्यान बचाइदिन छोरी दमन्ताले सबैसँग आग्रह गरेकी छिन् । तातोपानीले थुमसराको शरीरको करिब ६० प्रतिशत भाग पोलेको छ ।
यसैबीच, प्रहरीले शरीरमा तातोपानी खन्याउने कमल क्षेत्रीलाई उपचारको जिम्मेवारी लिन भनेको छ । बुधबार कोइलावासबाट पक्राउ परेका क्षेत्रीलाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको र उपचार खर्च बेहोर्न भनेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।



No comments