(१) संसारका शक्तिशाली मुलुकहरुले गर्ने व्यवहार भारतले नेपाललाई गर्ने गर्दछ । उसका अरु छिमेकीहरुसंग जे–जस्तो सम्बन्ध छ, त्यसै अनुरुपको व्यवहार नेपाललाई पनि गर्दछ भन्ने कुरा आम नेपालीले बुझ्नु जरुरी छ । हाम्रो अतिनै घनिष्ठ सम्बन्ध छ भन्नु राजनीति मात्र हो ।
(२) हिमालयको दक्षिणी काखको सम्पूर्ण भूभाग भारत बन्नुपर्छ र त्यहाको सम्पूर्ण साधन र श्रोतको उपयोग हामीले गर्न पाउनुपर्छ भन्ने चाणक्य नीतिका अनुयायीहरु एकातिर र कमजोर पाठ्यक्रम र फितलो अध्ययनबाट तयार भै नेपालको निजामती सेवाको स्वदेश र विदेशनीतिको बागडोर सम्हालेको नेतृत्वले तयार गर्ने सम्झौतापत्र र त्यो भन्दा पनि कमजोर पृष्ठभूमि भएको हाम्रो राजनैतिक नेतृत्वको बीच भएका सन्धि सम्झौताहरुमा हामी सधै ठगिँदै आएकाछौ । यो कुराले आमनेपालीको मन भत्भती पोलिरहेको छ र पोलिरहने छ । यो कटु सत्य हो यसमा कसैले चित्त दुखाउनु पर्दैन । चित्त त ति मानिसहरुले दुखाउनु पर्छ जसले नेपालको हितमा काम गर्न सकेनन् वा गरेनन् ।
(३) सुगौली १९५०, कोशी, गण्डक, पन्चेस्वोर (टनकपुर) लगायतका नेपाल भारतबीचका सन्धि–सम्झौताहरुमा लेखिएका बुँदाहरुका भावना बुझ्ने हो भने नेपालको सम्पूर्ण जलस्रोत भारतीयहरुले उपयोग गर्न चाहेको स्पष्ट देखिन्छ । सुख्खाग्रस्त मध्यप्रदेश तथा महाराष्ट्र भौगोलिक रुपमा उत्तर प्रदेश र बिहार भन्दा उच्च-समस्थलीमा हुनु र पामिरदेखि बग्ने सम्पूर्ण नदिनालाहरु बिहार र उत्तर प्रदेशको गहिरो भूभाग भएर पश्चिमको उच्च-भूभागबाट पूर्वी तल्लो तटीय भारततिर बग्ने कारणले गर्दा ती नदी नालाहरुलाई थुनेर सुख्खाग्रस्त मध्यप्रदेश तथा महाराष्ट्रका नदिनालाहरुमा छोड्न प्राविधिक रुपमा सम्भब नहुने भएपछि सि.आइ. ए. ई. भोपालका बैज्ञानिकदेखि पूर्व भारतीय राष्ट्रपति एपीजे अब्दुलकलाम सम्मले नेपालबाट बग्ने पानी भारतीयहरुको हितमा प्रयोगमा ल्याउनुपर्छ भन्ने कुरामा अनुसन्धान गर्नु, गराउनु र बृहत दीर्घकालिन योजना बनाउनुलाई भारतीयहरुको नजरमा नराम्रो भन्न मिल्दैन । अर्को कुरा, भारतीय शासकहरुको समस्या भनेको एकसय तीस करोड जनसंख्याको ब्यबस्थापन हो । यसका लागि पनि नेपालको पानीको स्रोत अति नै आवस्यक छ । केहि नेपालीहरुको बुझाइमा भारतीय शासकहरु नेपालको पानीबाट बिजुली निकाल्न चाहन्छन भन्ने छ तर यो गलत बुझाई हो किनकि भारत संसारको चौथो उर्जा उत्पादक मुलुक भैसकेको छ र उसले अहिले बिजुली निकाल्न उन्नाइस ओटा आणविक–भट्टी संचालन गर्दछ र पानीबाट बिजुली निकाल्नु फाइदाजनक छैन भन्ने कुरा भारतीय उर्जाविद् ईञ्जिनियरहरुको भनाइ छ ।
(४) नेपालीहरु कै काँधमा बन्दुक राखेर नेपालीहरुलाई नै हान्न पाईएको वर्तमान अवस्था र नेपालको सम्पत्ति आफ्नो पोल्टामा सजिलै पर्ने वातावरण ।
(५) यो पृष्ठभूमिमा आधारित भएर अहिले सिर्जना गरिएको नेपाल भारत सीमा समस्या र नेपाललाई गलाउन पटक पटक गरिँदै आएका र अबका दिनहरुमा गरिने आर्थिक नाकाबन्दी लगायतका आक्रमणबाट बच्न नेपालले आफ्नो खुट्टामा नउभिई सुखै छैन । आफ्नो खुट्टामा उभिनका लागि नेपाल भित्रैका नेपालीको भन्दा भारतीयको जानी वा नजानी हित चिताउनेहरु पनि अहिलेको नेपालको समस्या हो । यो गन्जागोल अबस्थामा नेपालमा भारतबाट ईन्धन आउँला, र हामी सुखले बाचौला भन्नु अतिसयोक्ति होला । भारत ठुलो देश हो, उसले नेपाललाई माया गर्छ भन्नु भ्रम हो किनकि उसले नेपाललाई साधन र श्रोतको रुपमा मात्र हेरेको छ ।
निचोडः
त्यसैले नेपाल भारत समस्या नेपालीले आफ्नो प्राकृतिक स्रोतको उपयोग एकोहोरो रुपमा भारतलाई दिने हो भने तुरुन्त हुन्छ । होईन हाम्रो प्राकृतिक संसाधनको उपयोग हामीले सम्भव भएसम्म गर्न पाउनु पर्छ त्यसमा छिमेकीले टांग अडाउनु हुँदैन भन्ने हो भने हामी सबै भन्दा पहिला उर्जामा आत्मनिर्भर हुनु आवस्यक छ । उर्जामा आत्मनिर्भर नभए सम्म हामी भारतसंग बार्गेनिङ गर्ने अवस्थामा हुँदैनौ । यो कसरी सम्भव हुन्छ भन्ने कुरा म यहाँ छोटकरीमा प्रस्तुत गर्न चाहन्छु ।
(१) ग्रामिण र अर्धशहरी बस्तिहरुमा छरिएर रहेका बायोउर्जाका स्रोतहरुको उपयोग गर्ने जस अन्तर्गत ४ घन मि क्षमताका गोवरग्यास प्लान्टहरुको निर्माण र संचालनमा जोड दिने साथसाथै अन्य बायोउर्जाका स्रोतहरुको अधिकतम उपयोग गर्ने । दुई महिनाको अवधिमा बायोग्यास प्लान्ट बनाई बायोग्यास उत्पादन हुन्छ । यो प्रविधिमा हाइब्रिड प्रणाली जोडेर भरपर्दो बनाउन सकिन्छ ।
(२) सक्ने जति तत्कालिनरुपमा आफुलाई आवश्यक पर्ने बिजुलीको व्यवस्था सोलार पावरबाट गरौं । यो कार्यबाट राष्ट्रिय विद्युतप्रसारण लाइनमा लोड कम पर्दछ जसबाट बचेको बिजुली खाना पकाउने काममा प्रयोग गरौ । यसले ग्यास र मट्टीतेल माथिको परनिर्भरता कम हुँदै जान्छ ।
(३) सबै तह र तप्काका राष्ट्र सेवकहरुले हाललाई बाईसाइकलको प्रयोग गर्ने जसले गर्दा पेट्रोल माथिको परनिर्भरता घट्दछ ।
(४) सौर्यउर्जा र बायुउर्जाको संयुक्त प्रणलीको बिकास गरि १० देखि २० किलोवाट क्षमताका उर्जा उत्पादन गर्ने केन्द्रहरुको सम्भव भए सम्मका ठाउँहरुमा पावर हाउसहरुको निर्माण छिटो भन्दा छिटो गरि स्वाबलम्बी बन्ने र बनाउने ।
(५) हाललाई उद्योग संचालन र लामो दुरीको वाहन चलाउनका लागि डिजेलफ्युलको व्यवस्था तेश्रो मुलुकबाट गर्ने ।
(६) सरदर ३०० कि० मि० को दुरी पार गर्ने ब्याट्रीले चल्ने मोटर भेहिकलको उपलब्धता अन्तरराष्ट्रिय बजारमा भैसकेकोले त्यस्ता मोटर भेहिकललाई अबका दिनमा नेपाल भित्र्याउने र होटेल, हस्पिटल, स्कुल, कलेज र घनावस्ती भएका ठाउँहरुमा ब्याट्री चारजिङ्ग स्टेसनको व्यवस्था गर्ने ।
(७) एकातिरको छिमेकीको मात्र भर पर्दा पाएको दुःख सम्झेर चीनतिरका नाकाहरु दीर्घकालीन रुपमा खोल्ने जसले हामीलाई युरोपसंग जोड्नेछ ।
(८) तिनाउ नदि पश्चिम र कर्णाली नदि पुर्वको मध्यपहाडी भूभागमा कोइलाखानीहरु संचालनमा छन्, यो उर्जाको समुचित विकास गर्न राप्तीको तल्लो तटीय भूभागमा १५०० देखि २००० मेघावाटको थर्मल पावरप्लान्ट बनाउने र त्यसबाट निस्कने स्टीमबाट खाध्य उद्योगहरु चलाउने ।
(९) आम नेपाली जनता सहभागी हुने गरि शेयर बिक्रि गरि रकम जम्मा गर्ने र दीर्घकालिन योजनाका साथ हाइड्रोपावरको उपयोग गर्ने ।
(१०) नेपालको प्राकृतिक संसाधनको उपयोग नेपालको हितमा हुने कुरामा भारतसंग वार्गेनिङको अडान लिएर बस्ने । लेखक भारतीय प्रौद्योगिकी संस्थान खड़गपुरबाट कृषि ईञ्जिनियरिङ्ग र रसियाली जनमैत्री विश्वविध्यालय मास्कोबाट मेकानिकल ईन्जिनियरिंगमा स्नातकोत्तर गरेका त्रिवि ईन्जिनियरिंग अध्यन संस्थानका सहप्राध्यापक हुन् ।
(११) आगामी ५ वर्षको बजेट उर्जा र बाटोको विकासमा मात्र खर्च गर्ने ।
(१२) हाम्रो हितका लागि हाम्रै प्राविधिक जनशक्तिको अधिकतम उपयोग गर्ने जस अन्तर्गत सर्वप्रथम कृषि, वन, बस्ती, बाटो, शहर, जलाधार जस्ता क्षेत्रको पहिचान गरि छुट्याउने र जहाँ मन लाग्यो त्यहाँ घर बनाउन नदिने । कृषि नै सबै कुराको विकासको मूल आधार हो भन्ने मूल मन्त्रका साथ कम गर्ने ।



No comments