काठमाडौं, कात्तिक २२ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले भारतले गरेको अघोसित नाकाबन्दीको आफ्नो पार्टीले सशक्त प्रतिरोध गरिने बताएका छन् ।
‘अब भारतीय विस्तारवादकाविरुद्ध सशक्त संघर्ष गर्न जरुरी छ ।’ नेकपा-माओवादी र नेकपा (एकीकृत)को संयुक्त एकता अधिवेशनको आइतबार कुपण्डोलमा उद्घाटन गर्दै बैद्यले भने-तर, वैद्यले कस्तो किसिमको संघर्ष गर्ने भने खुलाएनन् ।
उनले जनजिविका, जनतन्त्र र राष्ट्रियताको अवस्था गम्भीर भएको पनि बताए । उनले नाकाबन्दीको क्षति र भूकम्पको क्षति झण्डै झण्डै उस्तै उस्तै भएको समेत दाबी गरे ।
क्रान्तिकारीहरुसँग एकता
माओवादी अध्यक्ष मोहन वैद्यले एकीकृतसँगको एकतापछि अन्य क्रान्तिकारीहरुसँग पनि एकता गरेर अघि बढिने बताए । उनले कम्युनिष्टहरु एकता, संघर्ष र रुपान्तरणबाट नै अघि बढ्ने भए पनि एकता प्रक्रिया जटिलताको बीचमा अघि बढ्ने बताए ।
वैद्यले भने, ‘कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउन जरुरी छ’ ‘नयाँ प्रकारको ध्रुविकरण आवश्यक छ । त्यसैले अन्य क्रान्तिकारीहरुसँगको एकतालाई अगाडि बढाउने छौं ।’
क्रान्तिको नयाँ अध्याय
माओवादी अध्यक्ष वैद्यले क्रान्तिको नयाँ अध्याय शुरु भएको समेत दाबी गरेका छन् । संविधान निर्माणको बेला सबैतिर असन्तुष्टी र आगोको झिल्काहरु देखिएको टिप्पणी गरे ।
वैद्यले भने, ‘संविधान निर्माणमा मधेसमा पनि असन्तुष्टी देखियो, थरुहटमा, सेती महाकाली, भेरी कर्णालीमा अनि मगराँतमा पनि असन्तुष्टीहरु देखियो, विभिन्न ठाउँमा आगोका झिल्काहरु उठ्यो’ ‘आगो लगाउने कुरा, क्रान्ति गर्ने कुरा सानो भनेर हुँदैन । आगोको सानो झिल्को पनि ठूलो हुन सक्छ ।’
वैद्यले क्रान्तिको बत्ति ननिभेको र निभ्न नदिने पनि प्रतिवद्धता जनाए ।
नेकपा-माओवादी विघटन
नेकपा (एकीकृत)सँगको एकतासँगै नेकपा-माओवादी आइतबारदेखि औपचारिक रुपमै विघटन भएको छ । नेकपा-माओवादी विघटन गरी नेकपा क्रान्तिकारी माओवादी गठन गरिएको छ ।
दुई पार्टीको एकतापछि दुवै पार्टी विघटन गरी नेकपा क्रान्तिकारी माओवादी बनाइएको हो । वैद्य माओवादीमा १२५ जनाको केन्द्रीय समिति थियो भने एकीकृतमा २९ सदस्यीय केन्द्रीय समिति थियो ।
संयुक्त एकता अधिवेशनबाट दुबै पार्टी विघटन गरी बनाइएको नेकपा क्रान्तिकारी माओवादीले आगामी महाधिवेशनका लागि एक संयोजक चयन गरी महाधिवेशन आयोजक समिति गठन गर्ने केन्द्रीय सदस्य रामदीप आचार्यले बताए । कुपण्डोलमा शुरु भएको संयुक्त एकता अधिवेशनको बन्दसत्र चलिरहेको छ ।
सत्ताधारीहरु निरश जोकरः परि थापा
नेकपा (एकीकृत) का महासचिव परी थापाले अहिलेका सत्ताधारी दलहरु निरश जोकर भएको आरोप लगाएका छन् । उनले माले, मसाले र मण्डलेको सरकार बनाएकोमा प्रधानमन्त्री ओलीले नै गर्व गर्दै हिडेको भन्दै ब्यंग्य गरे ।
एकता अधिवेशनमा बोल्दै उनले ४ वटा पार्टीबाट एकता शुरु गर्ने भनिए पनि सम्भव नभएपछि २ पार्टीबीच एकता गर्न लागिएको बताए तर आफूहरुको एकता पनि ढिला भएको थापाले बताए ।



No comments