२४ कात्तिक, काठमाडौं । विशेष अदालतको आदेशपछि म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी र प्रशिक्षकलाई धरौटीमा छुटेका छन् ।
प्रहरीले खेलाडीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा जन्मकैदको माग गर्दै मुद्धा दायर गरेको थियो । तर, थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश मोहनरमन भट्टराई, सदस्यहरु भुपेन्द्रप्रसाद राई र महेश प्रसाद पुडारसैनीले धरौटीमा छाड्न आदेश दिएको हो ।
अभियुक्तहरुले म्याच फिक्सिङको आरोप अस्वीकार गरेपनि प्रहरीले पेश गरेको अडियो-भिडियो अध्ययनमा अन्जन केसी र रितेश थापाले रकम बुझेको देखिएको अदालतले बताएको छ ।
विशेष अदालतको आदेशमा प्रतिवादीहरुले कसुर गरेकै होइन भन्ने अवस्था नदेखिएको उल्लेख छ ।
तर, सबैलाई धरौटीमा छाड्न आदेश भएको छ । फैसलामा भनिएको छ-‘सो रकम म्याच फिक्सिङ बाहेकको यस बैध कारण र आधारबाट प्राप्त भएको भन्ने प्रतिवादीहरुको बयान समेतका मिसिल संलग्न कागजातबाट देख्न नआए तापनि राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दाबीको राष्ट्र विप्लव भनेको के हो भन्ने विषयवस्तु र प्रस्तुत म्याच फिक्सिङ भन्ने विषयलाई सोही परिभाषाभित्र पर्ने भनी दाबी गरिएको विषय समेतको परिप्रेक्ष तथा यसरी विदेशमा राष्ट्रको तर्फबाट खेल्न गएका खेलाडीहरुलाई अनौपचारिक रुपमा प्राप्त भएको रकमको संवेदनशीलता समेतलाई विचार गरी पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादीहरुले कसुर गरेकै होइन रहेछ भनी हाल्ने मिल्ने अवस्था तत्काल नदेखिएकाले .. धरौटी माग गरिएको छ ।’
अदालतले प्रशिक्षक अन्जन केसी र गोलकिपर रितेश थापासँग ५ लाख धरौटी मागेको छ । निलम्बित कप्तान सागर थापसँग १ लाख ५० हजार र अन्यलाई ५० हजार धरौटी मागेको छ ।



No comments