काठमाडौं - भदौ २९ । संविधानसभाले असोज ३ गते साँझ ५ बजे संविधान घोषणा गर्ने समय तय गरेको छ । यससँगै सभामुखदेखि प्रधानमन्त्री र राष्ट्रपतिको पनि निर्वाचनको मिति तय गरियको छ ।
जस अनुसार आगामी कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको विदाइ गरि नयाँ राष्ट्रपति पनि चयन हुने छ भने यही असोज १० गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पनि पाउने भएको छ ।
अहिले पारित हुँदै गरेको नयाँ संविधानको भाग ३५ मा संक्रमणकालीन व्यवस्था छ । जसमा धारा २९२ मा नयाँ संविधान जारी भएको बेला संसद अधिवेशन चलिरहेको भए ७(सात) दिनभित्र नयाँ प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ ।
अहिले संसदको अधिवेशन चलिरहेको छ र यो तत्काल अन्त्य हुने सम्भावना छैन । संसद अधिवेशन नचलेको अवस्थामा भने अधिवेशन बोलाएको सातदिभित्र प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ ।
यस अघि सत्तारुढ कांग्रेस र एमालेबीच आलोपालाको सहमति भए अनुसार सरकारको नेतृत्वमा अब एमालेको पालो हो र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री बनाउने अनुमान गरियको छ ।
यसैगरी कात्तिक ३ गतेभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गरिसक्नुपर्ने हुन्छ । संविधानको धारा २९१ मा संविधान प्रारम्भ हुँदा संसद अधिवेशन चलिरहेको भए ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि सभामुख र उपसभामुख चयन हुनेछ । पारित हुँदै गरेको नयाँ संविधानको धारा २९३ मा भएको व्यवस्था अनुसार संविधान जारी भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्नेछ ।



No comments