काठमाडौं, २ भदौ । संविधान निर्माणको पूर्वसन्ध्यामा सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले बाहुन नेताका घर खोजीखोजी आगो लगाउने चेतावनी दिएका छन् ।
प्रमुख चार दलका शीर्ष नेतातर्फ संकेत गर्दै नेता शेर्पाले आदिवासी जनजातीको अधिकारलाई निमोटेर प्रदेशबिनाको संविधान जारी भए खोजीखोजी बाहुन नेताका घरमा आगो लगाउने धम्की दिएका हुन् ।
काठमाडौंको बानेश्वरमा मंगलबार भएको विरोध सभामा बोल्दै शेर्पाले आफूहरुलाई सिध्याउन खोज्ने नेताहरु पनि सिध्याएरै छाड्ने चेतावनी दिए ।
‘हाम्रो अधिकारलाई निमोटेर शासन गर्न खोज्ने जो सुकैलाई पनि कुनै हालतमा छाड्दैनौं’, शेर्पाले धम्कीको भाषामा भने-‘पहिचानविरोधी र शेर्पाहरुको अधिकार बिनै संविधान जारी गरिए खोजीखोजी नेताहरुका घरघरमा आगो लगाउने दिन आउन सक्छ ।’
आफ्नो समुदायको हक अधिकार प्राप्तिका लागि आन्दोलनमा होमिन उनले शेर्पा युवा र धर्म गुरुहरुलाई मञ्चबाटै आव्हान समेत गरे ।
प्रमुख दलका शीर्ष नेताको नाम किटान गरेर अपराधीको आरोप लगाउँदै उनले देश बर्बाद हुनुमा तीनै प्रमुख दलका नेता प्रमुख कारण भएको बताए । उनले शेर्पा समुदायको छुट्टै स्वायत्त प्रदेश नभए नाम्चे र लुक्लासहित शेर्पा समुदाय बस्ने स्थानका विमानस्थल, यातायात र पर्यटकबाट आउने राजश्व आफूहरुले नै संकलन गर्ने बताए ।



No comments