काठमाडौं : विनाशकारी भूकम्प गएको १७ दिनपछि मंगलबार पुनः नेपालमा अर्को शक्तिशाली भूकम्पले हल्लायो । मंगलबार दिउँसो १२ बजेर ५६ मिनेटमा गएको ७.३ म्याग्निच्यूटको भूकम्पले ६० जना बढीको ज्यान गइसकेको छ ।
भूकम्पका कारण ओखलढुंगा, दोलखा र सिन्धुपाल्चोकका सतप्रतिशत घर ध्वस्त भएका छन् । काठमाडौं उपत्यकामा दर्जनौं घर भत्केका छन् । मंगलबार मध्यान्ह गएको शक्तिशाली भूकम्पपछि लगातार नेपालको जमिन हल्लिरहेको छ ।
७.३ म्याग्निच्यूटको भूकम्प गएयता मध्यरातिसम्ममा १४ भूकम्प गइसकेका छन् । अमेरिकन भूगर्भ विभागको रेकर्डअनुसार मंगलबार दिउँसोदेखि मध्यरातिसम्म भूकम्पले जमिन हल्लाउने क्रम रोकिएको छैन।
७.३ म्याग्निच्यूटको शक्तिशाली भूकम्प गएयता रामेछाप केन्द्रबिन्दु भएको ६.३ म्याग्निच्यूटको अर्को शक्तिशाली भूकम्प गयो ।
मंगलबारमात्रै ५ म्याग्निच्यूटमाथिका ५ वटा भूकम्प गएका छन् । त्यसैगरी ४ म्याग्निच्युटमाथिका ७ वटा भूकम्पको धक्का पूर्वी नेपाल, मध्य नेपाल र काठमाडौं उपत्यकामा महसुस भएको छ ।
मंगलबारको भूकम्पले काठमाडौं र दोलखाका दर्जनौ होटल ढलेका छन् । ती होटलमा मानिस पुरिएको अनुमानकासाथ सुरक्षाकर्मीले उद्धार जारी राखेका छन् ।



No comments