काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली इतिहासको ठूलो घुम्ती पार भएकोले अब नयाँ गन्तव्यको लागि नयाँ यात्रा सुरु हुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा मार्क्सवादी अध्ययन केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘इतिहासको एउटा यात्रा सकियो, एउटा कालखण्ड हामीले पूरा गरेका छौं । अब नयाँ गन्तव्यको लागि रेल वा जहाज अगाडि बढ्दछ ।’ उनले एउटा रेल अन्तिम स्टेशनमा आइपुगेको र अब नयाँ गन्तव्यको लागि नयाँ रेल वा जहाड चढेर अगाडि बढ्नुपर्ने बताए ।
‘नयाँ यात्रामा निस्कँदा पुराना साथीहरु छुट्न सक्छन्, केही समय अन्यौल हुनसक्छ,’ एमाओवादीका पूर्व वरिष्ठ नेता बाबुरामले भने, कहिलेकाँही एक्लै हिँड्नुपर्ने पनि हुन्छ तर, बिस्तारै साथी भेटिँदै जान्छन् र यात्रा रोचक हुँदै जान्छ ।’ उनले अब अहिलेसम्मको यात्राभन्दा पनि लामो समाजवादको यात्रा हुने उनले बताए ।
‘भनिन्छ, हजार माइलको लामो यात्रा एक पाइलाबाट सुरु हुन्छ । अब आर्थिक विकास र समृद्धि हासिल गर्दै समाजवादसम्मको यात्रामा रेल निस्कन्छ,’ उनले भने, ‘अब यो यात्रा रोकिन्न ।’
काठमाडौंलाई नदुखेको मधेस, नाकाबन्दीको भर्त्सना
भर्खरै मधेसबाट काठमाडौं फर्किएका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मधेसको दुःखसँग काठमाडौं बेखबर रहेको बताए । उनले भने, ‘काठमाडौंमा दुई दिन बन्द हुँदा कोकोहोलो मच्चाइन्छ तर, मधेस बन्द भएको दुई महिना बितिसक्यो । काठमाडौं अझै बेखबर छ ।’
‘भारतले खेल्ने प्रयत्न गरेको हुनसक्छ, तर मधेसमा जनता स्वयम् आन्दोलनमा छन्,’ उनले भने, ‘आन्दोलनलाई घुसपैठको आरोप लगाएर समस्याको समाधान हुँदैन ।’
उनले भारतको नेपालमा २०० वर्षदेखि अत्यन्तै अप्ठेरो आयाम रहेको बताए । ‘नेपालको विकास र स्वाधिनतामाथि अंकुश लगाएको छ,’ उनले भने, ‘भारतले गरेको नाकाबन्दी अत्यन्त निन्दनीय छ । यसको भर्त्सना गर्नुपर्छ ।
सरकारले भूकम्प नै बिर्सियो, जनता मारमा
बाबुरामले सरकारले भूकम्प गएको नै बिर्सेजस्तो व्यवहार गर्दा जनता मारमा परेको बताए । ‘केही भएको छैन जस्तो छ । विभिन्न बहानामा जनतालाई सघाउने काम भइरहेको छैन,’ उनले भने, ‘सरकारको सत्ता स्वार्थमा जनता चेपमा परिरहेका छन् ।’ उनले भूकम्पपछिको निर्माणलाई रणनीतिक योजना बनाएर अगाडि बढाउनुपर्ने बताए ।
मधेसी र थारुसँग मिलेर भारतसँग लडौं
पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामले बाह्य राजनीति र आन्तरिक राजनीतिलाई छ्यासमिस गर्न नहुने र यसलाई छुट्याएर हल गरिनुपर्ने बताए । उनले भने, ‘केही मानिसहरु आफू मात्र नेपाली हो, मधेसी नेपाली होइन भन्ने भ्रम फैलाइरहेका छन्,’ उनले भने, ‘मधेसी र थारुको समस्यालाई आफ्नै ठानेर हल गर्नुपर्छ । उनले मधेसी र थारुसँग मिलेर भारतसँग लड्नुपर्नेमा जोड दिए ।
राजनीतिक शक्ति नै हो नयाँ शक्ति
कतिपयले विचारविहिन मानिसहरु थुपारेर शक्ति बनाउन लागेको भन्दै लगाउने गरेको आरोपको खण्डन गर्दै उनले भने, ‘नयाँ शक्ति राजनीतिक शक्ति नै हो । यो द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद अथवा माक्र्सवादमा आधारित हुन्छ । त्यो भनेको माक्र्सवाद नै हो ।’ माक्र्सवादको नाममा १५० वर्षसम्म गरिएको अभ्यासको पुनरावृत्ति भने नभएको उनको तर्क थियो ।
‘मानवजातिले आजसम्म जुन विचार र दर्शनको आविष्कार गरेको छ, तीमध्येमा म आफूलाई लागेको सबभन्दा विकसित पछिल्लो दर्शन र विज्ञानले समेत पुष्टि गरेको दर्शन भनेको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद नै हो । त्यसैलाई माक्र्सवाद पनि भन्ने गरिन्छ । त्यसैले त्यो भन्दा उन्नत प्रकारको, सुसंगत, जीवन–जगतलाई बुझ्ने, विश्व व्रह्माण्डलाई बुझ्ने अर्को विचार–प्रणाली र दर्शन छ भन्ने मलाई लाग्दैन । त्यसैले अब बन्ने नयाँ शक्तिको मुख्य आधार पनि माक्र्सवाद अर्थात द्वन्द्वात्मक भौतिकवाद नै हुन्छ,’ उनले भने ।
‘तर, माक्र्सवाद र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको नाउँमा गत डेढसय वर्षमा खासगरी २०औं शताब्दीमा जे प्रयोग गरियो त्यसैको पुनरावृत्ति भने होइन । किनकि विज्ञान आफैंमा एउटा गतिशील वस्तु हो । विचार आफैंमा गतिशील वस्तु हुन्छ र समयको कालक्रममा नयाँ–नयाँ विज्ञान र प्रविधिको आविष्कार सँगसँगै त्यो विचारको पनि विकास हुँदै जान्छ’, उनले भने – ‘त्यही २०औं शताब्दीको यान्त्रिक नक्कल गरेर पुग्दैन । त्यो विचारधारा, त्यो दर्शन, त्यो विज्ञानलाई पनि समयानुकुल विकास गर्नुपर्छ । त्यसैले अब बन्ने नयाँ शक्तिको मुख्य आधार विकसित माक्र्सवाद, २१औं शताब्दीको, विश्व परिस्थिति सुहाउँदो र नेपालको ठोस परिस्थिति सुहाउँदो माक्र्सवाद नै हुन्छ ।’
नयाँ शक्ति संसदीय व्यवस्थाको नयाँ दोकान होइन
नेता डा.भट्टराईले नयाँ शक्ति संसदीय व्यवस्थाको नयाँ दोकान नभएको जिकिर गरे । उनले भने, ‘यो कसैको मनोगत चाहनामा आउने पनि होइन । व्यक्तिगत लहडमा निर्वाचन आयोगमा दर्ता भएर परिवारको पार्टी बनाउँदै १ सिट हासिल गरेर संसदीय व्यवस्थामा गरिने एउटा मजाक पनि होइन ।’ उनले पुरानैको निरन्तरता भए नयाँ दोकान थाप्न आवश्यक नभएको भन्दै आगामी युगको नयाँ कार्यभार पूरा गर्न नयाँ शक्ति बनाउन लागेको जिकिर गरे ।
जुनियर मार्थिन लुथर किङ्गको भनाई उद्धृत गर्दै उनले भने, ‘राम्रो काम गर्न जुनसुकै समय पनि उत्तम हुन्छ । ज्योतिषलाई हेराएर साइत खोज्न आवश्यक छैन ।’ उनले नयाँ शक्तिलाई आवश्यकता र आकस्मिकताको संयोग मिलेर जन्मिने बताए ।
यस्तो छ अहिलेको मुख्य अन्तरविरोध
उहाँले नेपालको सन्दर्भमा अहिलेको मुख्य अन्तरविरोध के हो भन्ने कुरालाई पहिचान गरेर त्यसलाई सम्बोधन गर्ने गरी नीति र कार्यक्रम तय गर्नुपर्ने बताए । ६०/६५ वर्षपछि पूँजीवादी राजनीतिक क्रान्ति पूरा भएको र त्यसले विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका जनताका राजनीतिक अधिकार संस्थागत गरेको उल्लेख गर्दै उनले भने – ‘अर्थात राजनीतिक उपरिसंरचनामा त्यसले परिवर्तन ल्याएको छ । अहिले बनेको संविधानको प्रस्तावनादेखि मौलिक अधिकार र राज्य निर्देशक सिद्धान्त हुँदै राज्यका विभिन्न अंगहरुको बारेमा विश्लेषण गर्ने हो भने राजनीतिक अधिकारको विषयमा धेरै नै राम्रा कुराहरु त्यहाँ छन् । तर त्यसलाई कार्यान्वयन गर्दै त्यसमा टेकेर अझ समुन्नत, नयाँ, समाजवादी समाजमा जाने हो भने तत्कालका मुख्य अन्तरविरोध ठम्याउनुपर्छ ।’ नयाँ शक्तिको नाम नेपाली मौलिकता र आवश्यकता हेरेर राखिने भन्दै उनले भने, ‘गुलाबलाई जुनसुकै नाम दिए पनि गुलाब नै हुन्छ । यसर्थ नाम भन्दा यसले समात्ने अन्तरवस्तु र गुण नै ठूलो कुरा हो ।’
No comments