नयाँ शक्ति अभियानलाई गति दिईरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक समाजले प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा १७ मंसिरमा भने, “भारतीय शासकलाई प्रचण्ड र देउवाले के आश्वासन दिए ? सत्तामा जानका लागि जे गर्दा पनि हुन्छ भन्ने र यहाँ आएर देशभक्तिको खोक्रो आदर्श प्रस्तुत गर्नेहरूबाट सचेत हुनुपर्छ ।” भारतले ‘नेपाली नेताहरूले आफूहरूले गरेको प्रतिबद्धता पूरा नगरेको भनेको’ बताउँदै भट्टराईले प्रचण्ड र देउवाको भारत भ्रमणमा के कुरा गरेका थिए, त्यसको जवाफ माग गरेका थिए, । संयोग पनि कस्तो ! भोलिपल्ट १८ मंसिरमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय राज्यसभामा नेपालबारे एउटा वक्तव्य दिइन्, जसमा भारतले नेपालका राष्ट्रिय नेताहरूलाई बोलाएर आफ्नो सरोकारको कुरा राखेको उल्लेख थियो । त्यसमा प्रचण्ड र देउवाको मात्र होइन, भट्टराईको नाम पनि उल्लेख थियो । जस्तो, उनले दिएको वक्तव्यमा भनिएको छ : ‘प्रधानमंत्रीजी (नरेन्द्र मोदी) द्वारा अगस्त और नवंबर २०१४ में नेपाल की अपनी दोनों यात्राओं के दौरान संविधान पर व्यापक और विस्तृत सहमति का आह्वान किया गया । ....कई अवसरों पर हमने अपनी इस सलाह को दोहराया, जिसमें सीपीएन–यूएमएल उपाध्यक्ष श्रीमती विद्या भंडारी की जनवरी २०१५ यात्रा, यूसीपीएन (एम) के वरिष्ठ नेता श्री बाबुराम भट्टराई की मार्च २०१५ यात्रा, यूसीपीएन (एम) के अध्यक्ष श्री प्रचंड की जुलाई २०१५ यात्रा, नेपाली कांग्रेस के वरिष्ठ नेता श्री शेर बहादुर देउवा की अगस्त २०१५ यात्रा तथा साथ ही नेपाल के अन्य लोगों की यात्राएं भी शामिल हैं ।’ भट्टराईले दावी गरेजस्तै, प्रचण्ड, देउवालगायत नेपाली नेताहरूको राष्ट्रवाद बारेको दोहोरो मापदण्डमाथि शंका गर्ने ठाउँ छैन । तर, भारतीय विदेशमन्त्री स्वराजको उपर्युक्त कथनप्रति साँधेको अहिलेसम्मको मौनताले उनले पनि भारतीय शासक वर्गलाई केही न केही आश्वासन दिएर आएका थिए भन्ने पुष्टि हुन्छ । नत्र आफूबारे कसैले प्रश्न उठाउँदा त्यसको तत्काल खरो जवाफ दिइहाल्ने भट्टराईले अहिलेसम्म स्वराजको उपर्युक्त कथनको जवाफ फर्काइसक्ने थिए । प्रमाणहरू भन्छन्, ‘आफूलाई जतिसुकै अलग देखाउन खोजेका होऊन्, भट्टराई पनि दोहोरो मापदण्ड प्रदर्शनमा कुनै नेताभन्दा कम्ती छैनन् । हेरौं, उनका बहुरूपका अन्य प्रमाण :
प्रमाण १ :- २९ भदौ २०७२ मा संविधानसभाबाट निर्मित संविधानमा हस्ताक्षर गरेपछि खुसी व्यक्त गर्दै फेसबुक वालमा लेखे, ‘नेपाली इतिहासमा पहिलोपटक सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट बनेको संविधानमा हस्ताक्षरसँगै संविधानसभा सदस्यको अन्तिम जिम्मेवारी पूरा ।’
संविधानसभाबाट संविधान बनेकोमा खुसी व्यक्त गरेका तिनै भट्टराई २० असोजमा कैलालीमा संविधानसभालाई कालो संविधान करार गर्दै आयोजना गरिएको थरुहटको सभामा प्रमुख अतिथिका रूपमा सहभागी बने ।
प्रमाण २ :- प्रधानमन्त्रीको दौडमा रहँदा २०६८ भदौ पहिलो सातासम्म भट्टराई भन्दै थिए, ‘सर्वसम्मतिबाट हुने भए मात्र म प्रधानमन्त्री हुन्छु । नत्र हुँदिनँ । मेरो यो अडान एक हप्तापछि पुष्टि हुनेछ ।’ तर, तिनै भट्टराई ११ भदौ २०६८ मा सर्वसम्मति होइन, मधेशी मोर्चाको समर्थनमा बहुमतीय पद्धतिबाट प्रधानमन्त्री निर्वाचित भए ।
प्रमाण ३ :- दोस्रो संविधानसभा चुनावमा एमाओवादी पराजित भएपछि राती अध्यक्ष प्रचण्ड निवास पुगी देशव्यापी रूपमा मतपेटिका फाल्नुपर्ने सुझाव दिए । ६ मंसिर बिहान एमाओवादीले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार गरी मतगणना बहिस्कारको घोषणा गर्दा भट्टराईको पनि सहभागिता थियो । पत्रकार सम्मेलनमा उपस्थित भएर मतगणना बहिस्कार गर्नुपर्ने पार्टी नीतिको पक्षमा वकालत गरेका भट्टराईले लगत्तै आफ्नो फेसबुक वालमार्फत चाहिँ लोकतान्त्रिक पद्धतिमार्फत भएको चुनावको परिणाम स्वीकार गर्नुको विकल्प नरहेको धारणा सार्वजनिक गरे ।
प्रमाण ४ :- प्रधानमन्त्री हुनासाथ सस्तो प्रविधि र स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनुपर्ने बताउँदै मुस्ताङ म्याक्स गाडी चढ्ने घोषणा गरे । तर, प्रधानमन्त्रीबाट हटेपछि मुस्ताङ म्याक्स होइन, उनी महँगो स्कोरपियो गाडी चढ्छन् ।
प्रमाण ५:- ९ असोजमा भट्टराई एक्लै एमाओवादीबाट बाहिरिए । एमाओवादीबाट एक्लो बहिर्गमनलाई उनका सहयोगीहरूले भट्टराईले एक्लै पार्टी छाडेर पार्टी फुटाउने विरासतबाट अलग हुन खोजेको भनेर प्रचार गरे । तरु अहिले एमाओवादीभित्रका आफ्ना समर्थकहरूलाई त्यहाँबाट निकालेर नयाँ शक्ति अभियान सञ्चालन गरिरहेका छन् । नयाँ शक्ति अभियान अहिले भट्टराई एमाओवादीमा रहँदा उनी पक्षीय गुटको समूहमात्र बनेको छ ।
प्रमाण ६ :- एमाओवादी छाड्नुअघिसम्म भट्टराई दाबी गर्थे, ‘एमाओवादी र मुलुक आफूले अघि सारेको नीतिअनुसार चलिरहेका छन् ।’ यसै आधारमा नयाँ शक्ति अभियानले नारा पनि दिएको छ, ‘जसको नीति उसैको नेतृत्व ।’ तर, आफ्नै नीतिअनुसार चलेको भनिएको पार्टीलाई उनले मृत र रातो स्टिकर लगाएको घोषणा गरे । एमाओवादी मृत र रातो स्टिकर लगाएको घर हो भने त्यो उनको विचारको पनि असफलता हो कि होइन ?
प्रमाण ७ :- पार्टी परित्याग गर्दा उनले जारी गरेको वक्तव्यमा आफ्नो राजनीतिक जीवनमा सदाचार र पारदर्शितालाई परिपालन गर्ने उल्लेख थियो । तर, त्यसयता मुलुकभित्र उनीद्धारा गरिएका कैयौं महँ गा कार्यक्रमहरूको आर्थिक स्रोत के हो (बाबुराम भट्टराईको अभियानको आर्थिक स्रोत के?), त्यसबारे कुनै पारदर्शिता प्रदर्शन गरिएको छैन ।
प्रमाण ८ :- १६ असोजमा गोरखा पुगेका भट्टराईले एमाले नेता केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै ठोकुवा गरे, ‘भारतीय नाकाबन्दीको विरोध गरेर राष्ट्रवाद प्रदर्शन गर्न खोजे पनि उनीहरूको राष्ट्रवाद ढोङमात्र हो । नोट गर्नुहोला, एक हप्ताभित्रै सत्ताका लागि उनीहरूको दिल्लीदौड सुरु हुनेछ ।’ भट्टराईले ठोकुवा गरेजस्तो ओली र प्रचण्डले दिल्लीदौड गरेनन् । अहिले भट्टराई ओली र प्रचण्डप्रति लक्षित गर्दै अन्धराष्ट्रवादी भनिरहेका छन् ।
प्रमाण ९ :- चुनवाङ बैठकबाट पारित ‘दस्तावेज एक्काइसौँ जनवाद’ मा नामको दस्तावेजमा कम्युनिस्ट पार्टीका प्रमुख नेताहरू सत्तामा नजाने बरु दोस्रो पुस्ताका नेताहरूलाई सरकारमा पठाएर मार्गदर्शकको भूमिकामा रहने उल्लेख छ । त्यो दस्तावेजमा आफ्नो योगदान रहेको भट्टराईले बताउने गरेका छन् । तर, भट्टराई आफै प्रधानमन्त्री बनेर सरकारमा गए । ‘नयाँ शक्ति’प्रति विश्वास आर्जन गर्न अहिले भट्टराई फेरि आफू प्रधानमन्त्री नबन्ने बरु नयाँ पुस्तालाई यस्तो जिम्मेवारीमा अघि सार्ने बताइरहेका छन् । यदि यसो हो भने जसको विचार, उसको नेतृत्व भन्ने नारा किन दिइएको होला ?
प्रमाण १०:- एमाओवादी अध्यक्ष प्रचण्डसँगको लामो बैचारिक प्रतिस्पर्धा टुङ्गिएको बताउँदै भट्टराईले २०६२ को चुनवाङ बैठकमा आफू अब अध्यक्षमा बिलिन भएको घोषणा गरे । आफूमा बिलिन भएका तिनै भट्टराईको सबैभन्दा ठूलो आक्रमणको तारो बन्दैछन् प्रचण्ड । प्रचण्डले आफूलाई मार्न खोजेको आरोपका साथ प्रचण्डलाई स्टालिनसँग तुलना गर्न समेत चुकेका छैनन् ।
प्रमाण ११ :- एमाओवादी छाड्न आयोजित कार्यक्रम (९ असोज २०७२) संविधानसभाबाट संविधान बनाउने एजेन्डा आफ्नो रहेको दाबी गर्दै भने ‘०४६ को परिवर्तनपछि मैले संविधानसभाको वकालत गरेको थिएँ, प्रचण्डले चाहिँ संविधानसभाको विरोध ।’ तर। तिनै बाबुराम हुन्, जसले २०४७ मा संविधानसभाको वकालत गरेका मोहनविक्रम सिंहको नेकपा (मसाल) बाट विद्रोह गरी संविधानसभाको विरोध गरेका प्रचण्ड नेतृत्वको नेकपा (मशाल) सँग एकता गर्न पुगेका थिए ।



No comments