काठमाडौं, कात्तिक, १९ । वीरगञ्ज घटनापछि भारतले सबै सीमा नाकाबाट हुने आयात लगभग ठप्प पारेको छ । ३ दिनदेखि नाकाहरुमा भारतीय पक्षले कडाइ गर्दै लगेकोमा आज बिहीबार भने सुचारु रहेका नाकामा पनि भारतीय अवरोध सिधा देखिएको छ ।
भारतीय भन्सारहरुले ‘माथिको आदेश’ भन्दै सीमा नाका ठप्प गरेको नेपाली भन्सार अधिकारीले बताएका छन् । भारतीय भन्सारहरुले इन्धनसहित तेस्रो मुलुकको कन्टेनरमा विषेश कडाइ गरेका छन् ।
भारतीय सीमा सुरक्षा बलले सुरक्षाको कारण भन्दै मालबाहक सवारीको भन्सार पास गराउन रोकेको छ । सोमबारदेखि भैरहवा र नेपालगञ्ज नाकाबाट हुने आयात ठप्प छ भने बिहारका निर्वाचनका लागि भन्दै मंगलबार बेलुकीदेखि नै बिराटनगर नाका सिल गरिएको छ । काँकडभिट्टा नाका भने आंशिक रुपमा सुचारु छ ।
इन्धनमा फेरि कडाइ
वीरगञ्ज घटनापछि भारतले इन्धनको लोडिङ घटाएको नेपाल आयल निगमले जनाएको छ । इन्धन भरेरै आएका केही ट्यांकरलाई पनि भारतीय भन्सारले छोडेका छैनन् । तीन दिनदेखि कुनैपनि नाकाबाट ठूलो परिमाणमा इन्धन बोकेका गाडी नेपाल आएका छैनन् । सबै नाकामा नेपालका लागि इन्धन बोकेका १ सयभन्दा बढी ट्याकंर अलपत्र परेका छन् ।
काँकडभिट्टा पारीको पानीट्यांकीमा मात्रै २९ वटा इन्धनका गाडी रोकिएका छन् । सुनौलीमा १८, रुपैडियामा २१ र जोगबनी नाकामा १६ बुलेट ग्यास रोकिएका छन् ।
वीरगञ्जमा २ सय ८ बुलेट ग्यास र ६७ ट्यांकर तेल डेढ महिनादेखि अलपत्र छ । वीरगञ्ज नाकामा मधेसी मोर्चाको अवरोध भएपनि अन्य नाकामा आन्दोलनकारी छैनन् ।
भारतको आफ्नै स्वार्थ
सड्न र बिग्रन सक्ने भारतीय उत्पादन बाहेक भारतीय भन्सारहरुले अन्य कुनै माहलबाहक गाडी छोडेको छैन । भैरहवा भन्सारले भारतीय उत्पादनमात्र पठाए नेपालमा भन्सार पास नगर्ने चेतावनी सुनौली भन्सारलाई दिएको एक भन्सार अधिकारीले बताए ।
दिउँसोसम्म नेपालगञ्ज नाकाबाट ५ वटा गाडी नेपाल भित्रिएकामा ४ वटा भारतीय सिमेन्ट बोकेका गाडी छन् । काँकडभिट्टा नाकाबाट पनि भारतीय उत्पादन बोकेका २५ वटा गाडी नेपाल आएका छन् । सीमापारी पानीट्यांकीमा ५ सयभन्दा बढी गाडी नेपाल छिर्नका लागि लामबद्ध छन् । अन्य नाकामा पनि अवस्था त्यस्तै छ ।



No comments