जुम्ला : सदरमुकामा आज भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १८ जना आन्दोलनकारी घाइते भएका छन् । पाँचजनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने १३ जनाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ। आन्दोलनमा १० जना प्रहरी पनि घाइते भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले बताए। आजको प्रदर्शनमा जिल्ला वन कार्यालय, शिक्षा कार्यालय, स्याउ प्रशोधन केन्द्रलगायत विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ। सुरक्षाको अवस्था जटिल बन्दै गएपछि आज साँझ ५ः३० बजेबाट सदरमुकाम आसपासमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जानकारी दिए। विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको माग गर्दै सङ्घर्षमा उत्रेका आन्दोलनकारीले जुम्लाका झन्डै तीन दर्जन सरकारी कार्यालय तोडफोड गरिसकेका छन् । आन्दोलनको आठौँ दिनसम्म पनि सरकारले कर्णालीवासीको मागप्रति कुनै चासो नराखेको भन्दै आक्रोशमा आएका आन्दोलनकारीले कर्णाली प्रदेश अङ्कित बोर्ड टाँस्न आह्वान गर्दै विभिन्न सरकारी कार्यालयका साइनबोर्ड तोडफोड गरेका छन् । उत्तेजित भीडले जिल्ला प्रहरी कार्यालयको साइनबोर्ड तोडफोड गर्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न ११ राउन्ड अश्रुग्यास र चार राउन्ड हवाईफायर गरेको थियो । झडपका कारण जिल्लाको अवस्था अहिले पनि तनावग्रस्त छ । झडपमा अन्य के–कति घाइते भए भन्ने यकिन हुन सकेको छैन । जिल्लामा शान्ति सुरक्षामा ल्याउन तथा आन्दोलनकारीलाई नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालित गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा कुनै पनि अप्रिय घटना हुन संयमता अपनाइएको उनले बताए।
Tagged with: News
About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
You May Also Like...
Subscribe to:
Post Comments (Atom)
No comments