काठमाडौं, चैत १८ । संयुक्त मधेसी मोर्चाले वैशाखबाट आन्दोलन सुरु गर्ने तर, चैत महिनाभर आन्दोलन नगर्ने भएको छ । तत्काल सीमानामा धर्ना लगायतका कार्यक्रम नगर्ने भएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा मधेसी मोर्चाको बैठक बसेको थियो । बैठकमा आन्दोलनको समिक्षा हुनुका साथै आगामी कार्यक्रमबारे छलफल भएको थियो ।
बैठकमा मधेसी मोर्चाको सचिवालयले चैतमा नै दबाबमुलक कार्यक्रम गर्ने प्रस्ताव गरेको छ । तर, शीर्ष नेताहरुले सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएको भन्दै यो बीचमा कुनै पनि आन्दोलन नगर्ने निर्णय सुनाएका छन् ।
सरकारले माग पुरा नगरे वैशाख पहिलो साताबाट आन्दोलन गर्ने मधेसी मोर्चाको तयारी छ । ‘अबको आन्दोलन काठमाडौं र पहाडबाट सुरु भएर तलतल सर्दै जानेछ’ मोर्चाको सचिवालय सदस्य एवं रामसपाका प्रवक्ता केशव झाले भने ।
उनका अनुसार सुरुमा दबावमुलक कार्यक्रम हुनेछ भने त्यसपछि चरणवद्ध रुपमा धर्ना, सरकारलाई कर नतिर्न अपील गर्ने लगायतका कार्यक्रम घोषणा गर्ने तयारी छ । तर, तत्काल बन्द हड्ताल र सीमा नाकामा धर्ना लगायतका कार्यक्रम नगर्ने मोर्चाको रणनीति रहेको एक नेताले बताएका छन् ।
No comments