यसपटकको नेपाल-भारत तनावमा नेपालले परम्परागत रुपमा चिनियाँ कार्ड खेले पनि चिनियाँ कार्डको स्वरुप भने अलग प्रकारले चर्चामा आएको छ ।
यो तिक्त अवस्था नेपालमा दशकौंदेखि चली आएको पश्चिम वनाम भारत वा पश्चिम वनाम भारत-चीन शीतद्वन्द्वको पछिल्लो परिदृश्य हो । यसले राष्ट्रको स्थायित्व र अखण्डतामा चुनौति दिएता पनि केही अवसर पनि लिएर आएको प्रतीत हुन्छ ।
पेट्रोलियम पदार्थमा चीनको अवस्था
चीन आफैं पेट्रोलियम पदार्थको निर्यातक राष्ट्र होइन । उसले आफ्नो कुल मागको ५४ प्रतिशत आयात गर्छ । त्यसमध्ये सबैभन्दा बढी खाडीक्षेत्रबाट आयात हुने गर्छ चीनले आफ्नो उत्पादन पूर्वीय र दक्षिण तटीय क्षेत्रमा नै बढी खपत गर्छ ।
आयातीत कच्चा तेल पनि तटीय क्षेत्रमा नै आउने र आफ्नो उत्पादन पनि त्यही क्षेत्रमा रहेबाट चीनको ९० प्रतिशत पेट्रोलियम रिफाइनरी त्यही क्षेत्रमा छन् । बाँकी गान्सुको ल्यान्चाउ र सिन्जियाङमा छन् ।
चीनको व्यापारिक तथ्याङ्क हेर्दा इन्धनमूलक पेट्रोलियम उत्पादन निर्यात गरेको देखिन्न, उत्तर कोरियालाई छाडेर । यस अवस्थामा नेपालसँग पेट्रोलियम पदार्थको दीर्घकालीन व्यापार चीनले गर्ला, नगर्ला पक्कै प्रश्ननीय कुरा हो ।
सम्भावित रुटहरु
१. भौगोलिक निकटताको हिसावमा सिचुवानको चेङदुबाट यान-लाङकाङ बेसिन-नु बेसिन हुँदै तिब्बतको र्यालुङ सेङपो ग्रेेट क्यानीयोन क्षेत्र पार गरी मेदोक-नियान्ची-लासा हुँदै नेपाल ल्याउन कम दुरी हुने देखिन्छ ।
तर, यसको भौगोलिक विकटता यति ठूलो छ कि चीन स्वयमंले ल्हासामा रेल ल्याउन यो रुट रोजेन । यसको सट्टा छिन्गाइबाट टेंगला पर्वतमाला कटाएर ल्याउन सजिलो मान्यो । त्यस क्षेत्रबाट पाइपलाइन ल्याउन पनि नेपाल र तिब्बतको उपभोग परिमाणले थेग्न सक्दैन । त्यसकारण यो रुट सम्भव देखिन्न ।
२. छिन्गाइ र गान्सुका कुवाहरुबाट प्राप्त पेट्रोलियम पदार्थ लेन्चाउको रिफाइनरीमा प्रशोधन गरिन्छ । यो सहर छिन्गाइको राजधानी सिनिङ र अर्को शहर गोलमट हुँदै ल्हासासँग रेलले जोडिएको पनि छ, यसकारण यो रुट मात्र निर्विकल्प देखिन्छ नेपालका लागि ।
मूल्य कति पर्ला ?
अहिले चीनको पेट्रोलको औषत खुद्रा मूल्य नेरुमा १०९ को हाराहारी (अमेरिकी डलर १.०४)पर्न जान्छ जसमा १.५२ चिनिया युयान कर हुने गर्छ । यसको गणितका आधारमा पेट्रोलको एक्स रिफाइनरी मूल्य ८० रुपैयाँसम्म पर्न जानेछ । नेपालमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ छ ।
यदि लेन्चाउबाट आयात गर्ने हो भने चीनको सामान्य ढुवानी दर रेल र सडक मिलाउँदा ०.१५ युयान प्रति कि.मि, प्रति के.एल पर्न जान्छ । लेन्चाउवाट लासा २२०० कि.मी र काठमाण्डौ थप १००० कि.मि गरेर जम्मा ३२०० कि.मि पर्दछ । अर्थात काठमाण्डौसम्मको १००० लि. को ढुवानी ४८० युयान पर्न जानेछ । जर्ती भाडा र एक्स रिफाइनरी मूल्य गरी रु ९० को हाराहारी पर्न जाने देखिन्छ ।
सरकारले अहिले पेट्रोलमा विभिन्न खाले कर र मु.अ.क गरी रु २६ प्रतिलिटर लिने गर्दछ । नेपाल आयल निगमको शिरोभार खर्च, मुनाफा, पेट्रोल पम्पको मुनाफा, एवं जर्ती मिलाउँदा आजको मूल्यमा १२५ देखि १३० रुपैयाँसम्म प्रतिलिटर पर्ने देखिन्छ ।
त्यस्तै डिजेलमा परल मूल्य कम भएता पनि करको कारणले ११५रुपैयाँ प्रतिलिटरसम्म पर्ने इन्टरनेटको अध्ययनबाट देखिन्छ ।
चीन मा पेट्रोल कति छ ? नेपालमा ल्याउँदा कति पर्छ ?

|
![]() |


No comments