असोज २३ , काठमाण्डु, – एकीृकत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण छिमेकी भारत सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन सांसद् किनबेचसम्ममा सहभागी भएको दाबी गरेका छन् ।
सिंहदरबारमा शनिबार भएको संसदीय दलको बैठकमा प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बनाउने दलहरुबीचको ‘भद्र सहमति’ विपरीत सुशीलले दिल्लीको उक्साहटमा प्रधानमन्त्रीमा उम्मेदवारी दिएको बताए ।
नेपालको प्रधानमन्त्री नेपाली जनताकै निर्णयबाट चयन हुनुपर्ने भन्दै प्रचण्डले राष्ट्रियता रक्षाका लागि अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
‘सुशीललाई प्रधानमन्त्री बनाउन भारतीय दूतावासबाट प्रतिसांसद् ५० लाखसम्मको अफर आएको सुनेको छु’, प्रचण्डले भने, ‘विदेशी लविङलाई असफल पारेर हामी आफ्नै बलबुताबाट देशको प्रधानमन्त्री चुन्न जाँदै छौं ।’
प्रचण्डले शुक्रबारसम्म काँग्रेसकाबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिने सूचना पाए पनि शनिबार बिहान एकाएक सुशील उम्मेदवारीका लागि तयार हुनु आश्चर्यको विषय भएको उल्लेख गरे ।
प्रचण्डले संविधान रोक्न नसकेपछि भारतले संविधान कार्यान्यवनमा भाँजो हाल्न संधिवान निर्माणमा एकजुट भएका दलबीच फाटो ल्याउन खोजेको बताए ।
कानून बनाउन र संविधान संशोधनमा अड्चन ल्याउनकै लागि सुशीललाई प्रधानमन्त्रीमा उम्मेदवारी दिन भारतले दबाब दिएको उनको भनाइ थियो ।
‘दलहरु मिल्दा संविधान कार्यान्वयन रोक्न सकिँदैन भन्ने ठानेर भारत दलहरुबीचमा फाटो ल्याउन चाहन्छ’, उनले भने, ‘मैले बुझेसम्म सुशीलजी उतैको दबाबमा प्रधानमन्त्री उम्मेदवार बन्नुभएको छ ।’
No comments