काठमाडौं, वैशाख १९ – कति साह्रो पत्रु भएछौ है हामी ! रत्नपार्कबाट लखनखेल रुटमा चल्ने माइक्रो बसलाई साँखु या कुरिनटार मोड्न विशेष अनुमति लिनुपर्ने, काठमाडौँबाट धनगढी या झापा रुटका ट्रक र बसलाई यताउता गर्दा पैसै खुवाउनुपर्ने देशका बासिन्दा हामी तर आज रेस्क्यूका नाममा उत्तर प्रदेश परिवहान निगम लेखिएका एकैखाले सर्यौ बस र वायुसेनाका जहाज, हेलिकोप्टरले निर्वाध आउजाउ गर्दा हेरेको हेर्यै ! धन्न पशुपतिनाथ , जय भोलेबाबा !
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक बालमा आज पोष्ट गरेको सामग्री हो यो । मुलुक भूकम्पको तवाहीको मारमा परेको छ । राहत र सहयोगका नाममा हजारौ विदेशी उद्धारकर्ता मुलुकका विभिन्न स्थानमा क्रियाशिल रहेका छन् । विपदको समयमा मित्रराष्ट्रहरुले उपलब्ध गराएको राहत तथा उद्धारलाई स्वीकार गर्नु वाध्यता पनि बनेको छ । मुलुकका ३९ जिल्ला र विशेष गरी ११ जिल्ला प्रभावित भएका छन् । मुलुकका विभिन्न स्थानमा विशेष गरी भारतीय पक्षबाट राहतको नाममा अन्य मुलुकका उद्धारकर्मीलाई काम गर्न नदिने प्रवृत्ति बढ्ता देखिएको भन्दै सर्वत्र गुनासो बढ्दै गएको छ । नेपाली सेनाले भारतीयले हरेक स्थानमा अवरोध मात्र गरिरहेको गुनासो गर्दै प्रधानमन्त्री सुशील कोइराला, रक्षा मन्त्रालय र गृहमन्त्रालयलाई समेत पत्राचार गरेको बताइएको छ ।
सेनाले गराएको ध्यानाकर्षणको कुनै सुनुवाई भएन
मुलुकका विभिन्न स्थानमा अघिल्लो मोर्चामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान नै खटेका छन् । अप्ठ्यारो अवस्थामा काम गर्ने भनेका नेपाली सुरक्षाकर्मी नै देखिएका छन् । गोङ्गबु, बसपार्कलगायतका स्थानमा सशस्त्र प्रहरीले गरेको कुशलतापूर्वक निर्वाह गरेको समाचार आएकै छ । उनीहरुले परेको बेलामा कुशलतापूर्वक काम गरेकै छन् । मुलुकभित्र र बाहिर पनि नेपाली सुरक्षाकर्मीको प्रशंसा भएको छ । रियल हिरोको उपमा पाएका नेपाली सुरक्षाकर्मीका सामु विदेशी उद्धारकर्ता फिका फिका भएका छन् । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने भारतीय सेना र उद्धारकर्मीले नेपाली अधिकारी माथि गरेको ज्यादतीको जति निन्दा गरेपनि कम हुने स्थिती देखिएको छ । भारतबाट ल्याइएका ६ वटा हेलिकोप्टरले विमानस्थलको मुख्य भाग कब्जा गर्ने र अन्य मुलुकका हवाई जहाज अवतरण नै गर्न नलिने रणनीति अख्तियारी गरेका छन् । विमानस्थलका एक अधिकारीले नाम नलेख्ने शर्तमा भने भारतीयको ज्यादती शब्दमा उल्लेख गर्न मिल्ने हदको छैन । यतिसम्म कि भारतीय पत्रकारले समेत नेपाली सेना र विमानस्थलका कर्मचारीलाई आमा चकारी गाली गर्दै जवरजस्ती गरेका छन् । उनीहरुले नेपाली सेनाले अवरोध ग¥यो भन्दै ब्रेकिङ न्यूज बजाउने भन्दै विमानस्थलको सुरक्षा संवेदनशिलतालाई समेत ख्याल गरेका छैनन् ।
भारतीय उद्धारकर्मीका रुपमा आएका भारतीय सेनाले नेपालका कोही पनि सरकारी अधिकारीलाई नगन्ने र आफ्नो हैकम देखाउने गरेका छन् । नेपाली सेनाले सधै जसो सैनिक मुख्यालयमा गर्ने पत्रकार सम्मेलनमा समेत सो कुरा उठ्ने गरेको छ । सेनाले रक्षा, गृह र स्वयम् प्रधानमन्त्रीलाई समेत सो बारेमा जानकारी गराएका छन् । तर आजसम्म कही कतैबाट सुनुवाई भएको छैन । नेपाली सेनाका एक उच्च अधिकारीले भने ‘‘ भारतीयले गरेको जवरजस्तीका बारेमा सबैलाई थाहा छ, न त सरकार बोल्छ, नत राजनीतिक पार्टी नै बोल्छन् , नत नागरिक समाज नै बोल्छन् । यो मुलुक त कस्तो भयो ।’’ उनले अझ अगाडि थपे ‘‘मानवीयताको नाममा भारतीयले नेपालको अस्मिता माथि नै धावा बोलेका छन् । यसको ख्याल गर्ने कसले हो ?’’ विमानस्थलमा भारतीयका लागि सुरक्षा सम्वेदनशीलतालाई समेत ख्याल नगरीकन काम हुने गरेको छ । उद्धारका लागि हेलिकोप्टर उड्ने वित्तिकै राहत सामग्री भन्दै पानी भरिएका ट्रक लगेर तेस्याउने गरेका छन् । भूकम्प पीडितको उद्धारमा सबैभन्दा राम्रो काम नेपाली सुरक्षाकर्मी बाहेक कसैले गरेको छ भने चिनीयाँ उद्धारकर्ताले गरेका छन् । चिनीयाँ पछि टर्कीका उद्धारकर्ताको कामलाई पनि नेपालीले सह्राना गरेका छन् । तर, भारतीयको काम उद्धारमा भन्दा पनि नेपालमा सरकार नै नभएको, राज्य नै नभएको भने जसरी प्रचार गरेका छन् ।
मिडियामा गलत प्रचार
सरकार लागेकै छ, उद्धारकर्मी लागेकै छन्, राजनीतिक दल र तिनका भातृ सङ्गठन पनि लागेकै छन् । भारतीयले नै सबै गरे जसरी भारतीय मिडियाले गलत प्रचार गरेका छन् । तर स्थानीय जनताले नेपालकै सुरक्षाकर्मीको कामलाई नै प्रशंसा गरेका छन् । नेपालको विमानस्थल, सिंहदरबारमा भारतीयको कब्जा छ । काम पनि नगर्ने, हल्ला मात्रै बढी गर्ने उनीहरुको प्रवृत्तिको जानकार गृह मन्त्री वामदेव गौतम पनि छन् ।
सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले त भारतीयको पक्षमा नै अभिव्यक्ति दिने गरेका छन् । उनले विपदको बेलामा राष्ट्रियताको कुरा नगर्न आग्रह गर्दै आएका छन् । विपदको बेलामा पनि मुलुकको सार्वभौमसत्ता हुन्छ, केही मूल्य र मान्यताहरु हुन्छन् र रहन्छन् पनि तर भारतीयले नेपालको सम्वेदनशिलतालाई ख्याल गर्ने गरेका छैनन् । सम्वद्ध पक्षकाअनुसार भारतीय सेना कम्तीमा ६ महिनाभन्दा बढी समय नेपालमा बस्ने गरी आएका छन् । उनीहरुको ध्येय नेपालमा नियमित एउटा बेस नै राख्ने ध्येयका साथ आएको बताइन्छ । सेवा र उद्धारको नाममा आफ्नो नियमित सेना नेपालमा राख्ने तर्फ उनीहरुले ध्यान केन्द्रित गरिरहेको विषयलाई सरकारले कसरी हेरिरहेको छ भन्ने प्रश्नमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मिनेन्द्र रिजालले प्रश्नकर्ता पत्रकारलाई उल्टै हप्काएका थिए । सरकारलाई पनि जानकारी रहेको विषयमा किन नबोलेको हो भन्दै सेनाले रक्षा र गृहलाई जानकारी गराएको छ । तर आजसम्म भारतीयको ज्यादतीको विषयमा ध्यान दिएका छैनन र कुनै पनि विषयमा बोलेका छैनन् । बालाजुका रामकृष्ण मानन्धरले भने ‘‘ काम नेपाली सुरक्षाकर्मी र चिनीयाँले गरेका छन्, प्रचार मात्रै भारतीयले गरेका छन् । यो विषयमा सरकार नबोल्नु र कुनै पनि प्रतिक्रिया नदिनु सोह्रै आना गलत छ । यस्तो स्वीकार गर्न सकिन्छ । अब त अति भयो, भारतीयलाई फिर्ता पठाइदिए हुन्छ ।’’ भारतीय ज्यादतीको विषयमा आम नागरिक समेत सचेत भइरहेको सन्दर्भमा दलहरु बोल्नु पर्दैन र, सरकार बोल्नु पर्दैन र । भूकम्प पीडितहरुको घाउमा मल्हम लगाउने हो कि जवरजस्ती गर्ने हो भारतले सार्वजनिक रुपमा बोल्नु पर्दैन ? आम नेपाली यस्तै प्रश्न गरिरहेका छन् ।





No comments