नुवाकोट, वैशाख २० – किम्ताङ–८ का १०५ वर्षीय फन्चु घले उमेरलेसमेत अस्ताउनै लागिसके । १२ गतेको विनासकारी भूकम्पमा उनी घरभित्रै थिए र पुरिए । आफन्त र गाउँलेहरुलेसमेत उनलाई ज्यूँदो देख्ने आशा मारिसकेका थिए । तर, त्यसको आठ दिनपछि कसैले विश्वास नै गर्न नसक्नेगरी वृद्ध फन्चु जीवितै भेटिए । यो उमेरमा पनि उनले फेरी नयाँ जीवन पाए ।
यस्तो कहालिलाग्दो संकटमा पनि भोकभोकै बाँचेका उनी युवा उमेरकोझैँ जोसिला र फूर्तिला देखिन्थे । शनिवार नुवाकोट प्रहरीसहितको उद्धार टोलीले ध्वस्त भएको घरभित्रबाट उनलाई १ सय ६८ घण्टापछि जीवितै रहेको अवस्थामा फेला पारेको हो । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ल्याइएका उनको अहिले जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । तर, हातगोडामा केही चोटपटकबाहेक उनको अवस्था सामान्य छ । ‘बाँच्नुपर्नेहरु अकालमै मरे, म मर्नुपर्ने बेला भइसकेको बूढोचाहिँ अझैँ कति बाँच्नुपर्ने हो ! फन्चु आश्चर्यचकित भएर भन्दै थिए, ‘कलियूग भनेको नै यही होला है !’ बाँच्न पाएकोमा फेरी गर्व गर्दै भने, ‘मैले पुर्नजन्म पाएँ, अर्को जुनी नै फेरेजस्तो लाग्यो ।’ घरपुरै ढलेपनि आफू धेरै नथिचिएको र त्यहाँबाट निस्कने ठाउँ पनि नभएको उनले बताए । ‘सास फेर्न हावा कतैतिरबाट आउँथ्यो, फन्चुले पुरिएर बस्नुपर्दाको कहानी सुनाउँदै भने, ‘भान्छा छेउमै थिएँ, अलिकति पिठो र पानी थियो खाएर बाँचे ।’ पिठो छउन्जेल बाँचेपनि गाउँका सबै मरिसकेको ठानेका उनले कसैले झिक्न नआएपछि मरिने पक्कापक्की गरिसकेको पनि बताए । भूकम्पले बाक्लो बस्ती भएको उनको गाउँ किम्ताङमा मात्रै २७ जनाभन्दा बढीको ज्यान लियो । वस्तीभरिका घरहरु तासझैँ ढलेर माटोमा मिलेका थिए । ज्यान जोगाउन भागेकाहरु टाढा नाङ्गा पाखातिर पुगे । नसक्ने वृद्धवृद्धा र वालवालिका अनि पशूचौपायहरु पुरिए । समयमै राज्यबाट उद्धार पाएको भए बाँच्नसक्ने परिवारका सदस्य र छिमेकी गाउँलेहरुकोसमेत उद्धार हुन नसकेकै कारण मृत्यु हुनपुग्यो । यही अवस्थाकाबीच फन्चुलाई जीवित या मृत जे भएतापनि धेरैदिनसम्म उद्धार गर्ने कोही आएनन् । गाउँका धेरै घरमा शव पुरिएको आशंकामा आठौँ दिनपछि प्रहरी र गाउँलेहरुसहितले उत्खनन् गरे । अन्ततः सबैलाई अचम्मित पार्दै उनी जीवितै फेला परे । प्रहरीले समयमै जानकारी नपाएकोले तत्काल उद्धार गर्न नपाएको बताउँदै नुवाकोटका डिएसपी अरुण पौडेलले खुसी व्यक्त गर्दै भने, ‘ढिलै भएपनि प्रहरीको यो ठूलै सफलता हो ।’ १९९० सालमा गएको विनासकारी भूकम्पका बेला फन्चु २४ वर्षे लक्काजवान ठिटो थिए । उबेला उनले भूकम्पको असर राम्रैसँग भोगेको अनुभव पनि सुनाउँदै थिए । ‘त्यतिखेरको भन्दा अहिले ठूलो आयो भुँइचालो । फन्चु उहिलेको र अहिलेको भूकम्पको प्रभावलाई तुलनात्मक रुपमा जोख्दै भन्छन्, ‘९० सालमा भुइँचालो आउँदा म घरभित्रै सुतेको थिएँ । गाउँमा कोही पनि मान्छे मरेका थिएनन्, तर अहिले कत्ति मरे कत्ति । आम्मै नि ! मेरो त सात्तो नै गयो ।’ रसुवामा पहिरोबाट ९८ घन्टापछि उद्धार रसुवामा एक युवाको ९८ घन्टापछि उद्धार गरिएको छ । टाउकोमा लागेको चोटमा किरा परिसकेको अवस्थामा उनको उद्धार भएको हो । भूकम्पपछि आएको पहिरोले रसुवाको मैलुङमा पुरिएका विदुर नपा–११ त्रिशूली बजारका ३७ वर्षीय शिव श्रेष्ठको चार दिनपछि उद्धार गरिएको थियो ।




No comments