प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट घाइते भएकाको अवस्था बुझ्न आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेका छन्।
शनिबार गएको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लामा नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी ल्याएका र अन्य घाइतेमध्ये ३६३ जनाको उपचार सो अस्पतालमा भइर
हेको छ ।
प्रधानमन्त्री कोइरालाले घाइतेको अवस्था बुझ्दै ‘नआत्तिनुस्, धैर्य गर्नुस, राम्रो उपचार हुन्छ’ भनी घाइतेप्रति सहानुभूति व्यक्त गरेका थिए।
सो क्रममा प्रधानसेनापति गौरवशम्शेर जवराले घाइतेको उद्धार तथा उपचारमा सेनाले गरिरहेका विभिन्न प्रयासबारे प्रधानमन्त्रीलाई जानकारी गराए।
विनाशकारी भूकम्पबाट काभ्रे, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लाबाट सेनाले हालसम्म उद्धार गरी ७११ घाइते ल्याएकामा त्यसमध्ये अहिले ३६३ जनाको सो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले हालसम्म दुई दर्जनभन्दा बढी घाइतेको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।
भूकम्पबाट अस्पतालमा समेत केही क्षति भएकाले उद्धार गरी ल्याइएका सम्पूर्ण घाइतेको उपचार हाल अस्पताल परिसरमा टेन्टमा राखेर भइरहेको सहायक रथी ब्रजेन्द्र श्रीवास्तवले राससलाई जानकारी दिए।
उद्धार गरी ल्याइएका घाइतेको उपचारका लागि नेपाली सेनाबाहेक इजरायल, भारत, चीनलगायतका मुलुकले पनि छुट्टै एकाइ स्थापना गरेको उनले बताए। रासस
No comments